काठमाण्डौ । अर्थमन्त्री जनार्दन शर्माले आफूलाई राम्रो काम गर्नबाट कसैले रोक्न नसक्ने बताएका छन्। 

राजधानीमा बुधबार नेपाल मोबाइल वितरक संघको दोस्रो राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले यस्तो धारणा राखेका हुन्। ‘जनार्दन शर्मालाई राम्रो कुरा गर्यो भनेर कसैले नभने पनि ठीक छ। नराम्रो कुरा कसैले भनेर पनि केही हुँदैन’, शर्माले भने, ‘कसैले मलाई रोक्ने प्रयत्न गरेको पनि छैन र गर्न पनि सक्दैन। गलत कामका लागि त्यो रोक्ने मान्छे मेरो नजिक आउन पनि सक्दैन।’ 

अर्थमन्त्री शर्माले मोबाइल अहिले अतिआवश्यक वस्तु भएको पनि बताए। ‘अहिले व्यक्ति, संस्था, व्यवसायमात्र नभर राज्य पनि मोबाइलबाटै सञ्चालित भएको छ’, उनले भने। 

अहिले राजनीति पनि मोबाइलबाट चलेको शर्माको तर्क थियो। ‘सबै पार्टीको महाधिवेशन चलिरहेको छ। मोबाइलमा फोन गर्दै भोट हाल्नु है भन्दै अधिवेशन फोनबाट नै चलेको छ’, उनले भने, ‘अहिले राजनीति नै मोबाइलमा आत्मनिर्भर भएकाले भोलिका दिनमा सरकारले मोबाइल व्यवसायलाई केही समस्या होला कि भनेर व्यवसायीहरु त्रसित हुनुपर्दैन।’

मोबाइल अहिले अतिआवश्यक वस्तु भइसकेको उल्लेख गर्दै शर्माले भने, ‘दुई दिन मोबाइल नचलाउँदा कतिलाई डिप्रेसन हुन्छ होला, मोबाइलले हामीलाई चलाउने होइन। हामीले मोबाइल चलाउनु पर्छ।’

वैध रुपमा नेपालमा अवैध कम भइरहेको भन्दै शर्माले अवैध रूपमा मोबाइल आइरहेको जिकिर गरे। ‘जसले गर्दा राजस्वमा क्षति भइरहेको छ’, उनले भने, ‘त्यो रोक्नका लागि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) तत्काल लागू गर्न निर्देशन दिएको छु।’