– अनन्त्य सुन्दर
काठमाण्डौ । नेप्से परिसूचक आज ७२.३२ अंकले घट्यो। झन्डै ३२०० पुगेको सेयर बजारमा भारी अंकको गिरावट आएसँगै बजार आज २५१३ को विन्दु झरेर बन्द भएको छ।
बजार घटेसँगै दैनिक हुने कारोबारमा पनि गिरावट आइरहेको छ। आज बजारमा ४ अर्ब रुपैयाँको मात्र कारोबार भएको छ। कुनै बेला यही बजारमा झन्डै २२ अर्ब रुपैयाँसम्मको कारोबार भएको थियो।
बढ्दो बजारमा अब बजार बढ्छ भनेर अधिकांश लगानीकर्ता बजार प्रवेश गर्ने गरेको देखिन्छ। बढ्दो बजारमा अधिकांश ब्रोकरहरुले लगानीकर्ताहरुलाई १ः४ लिमिट दिने गरेका थिए।
बजार बढ्दा लगानीकर्ताले ट्रेड गरिरहने भएकाले ब्रोकरहरु पनि कमिसनबाट मख्ख थिए। बढ्दो बजारमा लगानीकर्ताको लगानी क्षमता नहेरी लिमिट दिएका ब्रोकरहरु अहिले भने पैसा उठाउन नसकेर तनावमा छन्।
‘लगानीकर्ताहरुलाई फोन गरौँ फोन नै स्विच अफ छ’ एक ब्रोकर सञ्चालक भन्छन्, ‘सम्पर्क नै नभएकाले सेयर बेच्यो भने क्लोजआउटमा पर्लान् भन्ने डर।’
अहिले ब्रोकर अफिसमा पैसा कसरी उठाउने भनेर दैनिक मिटिङ हुने गरेको छ। ‘हाम्रो आफ्नै पुँजीले सेटलमेन्ट गर्ने अवस्था छैन। त्यसैले अब लगानीकर्ता नै ब्रोकरलाई परिस्थिति मार्जिन लेन्डिङ दिनुपर्छ भनेर आन्दोलित हुन जरुरी छ’, ती ब्रोकर सञ्चालकले भने।
‘जग्गा किन्न, घर किन्न, सुन किन्न, ऋण तिर्ने, विवाह गर्न भनेर लगानीकर्ताहरु सेयर बेच्छन्। सेयर खरिद गरेका लगानीकर्ताहरुलाई सेटलमेन्ट गर्दिनुपर्यो भनेर फोन गर्दा–गर्दा हातमा ठेला उठी सक्यो। हाम्रो आफ्नै पुँजीले सेटलमेन्ट कसरी गर्ने?’, प्रश्न गर्दै अर्का एक ब्रोकर भन्छन्, ‘पैसा कसरी उठाउने होला भनेर हामी त हैरान भइसक्यौँ।’
बजारको घटाइ यस्तो छ। कारोबार न्यून छ। ‘लगानीकर्ताहरुले पैसा तिर्ने कुरा नै गर्दैनन्। ब्रोकर अफिसका स्टाफ कसरी पाल्ने ? भन्ने भइसक्यो। गरी खाने भाँडो नै खतम हुन् लग्यो’, एक ब्रोकर सञ्चालक भन्छन्, ‘अझ केही दिन यही हिसाबले बजार चल्ने हो भने लगानीकर्तामात्र नभएर बैंक, व्यवसाय, बीमालगायत समग्र क्षेत्र र अर्थतन्त्रलाई नै असर गर्ने मेरो विश्लेषणले देखाउँछ।’
‘अहिले ५० वटा ब्रोकरहरुको कम्तीमा पनि ३–४ अर्ब उठ्न बाँकी होला’, एक ब्रोकर सञ्चालक भन्छन्, ‘तरलता अभाव साथै कारोबार रकम ३–४ अर्बमा खुम्चिएको बेला यो ठूलो रकम हो।’
अफिस आवरमा पैसा तिर्न बाँकी लगानीकर्ताहरुको फोन अफ हुने र सम्पर्कमा हुनेहरु अनेक बहाना बनाएर पन्छिने गरेको ती ब्रोकर सञ्चालकले गुनासो पोखे।
‘विवाहको सिजन भएकाले विवाहका लागि भन्दै लगानीकर्ताहरु सेयर बेच्नुहुन्छ। त्यो पैसा फेरि बजारमा नआएर बैंकमा नै रहन्छ। बैंकले सेयर धितो कर्जा स्वीकृति गरेका छैनन्’, ती ब्रोकर सञ्चालकले भने, ‘उक्त रकम अन्य व्यवसायहरुले नै लाने भएकाले पनि बजारमा अहिले कारोबार घटेको र सेटलमेन्टमा समस्या आएको हो।’
1 hour ago
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago
2 hours ago
2 hours ago
13 hours ago
13 hours ago
13 hours ago