काठमाण्डौ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले विश्वमा हाल उपलब्ध कोभिडविरुद्धको खोप नयाँ भेरिएन्ट ओमिक्रोनविरुद्ध लड्न समक्ष रहेको जनाएको छ। 

डब्ल्यूएचओको यो बयान दक्षिण अफ्रिकाको एउटा ल्याबमा परीक्षणका क्रममा फाइजर खोप ओमिक्रोनसँग लड्न प्रभावकारी देखिएपछि आएको हो। ‘यस्तो कुनै संकेत प्राप्त भएन कि फाइजर खोपको प्रभाव अन्य भेरिएन्टको तुलनामा ओमिक्रोनमा कम देखियो, खोपले सामान प्रभावकारिता देखाएको छ’, डब्ल्यूएचओका डा माइक रयानले भने।

डा रयानले हाल विश्वमा उपलब्ध खोपहरु गम्भीर बिरामी परेका र अस्पतालमा भर्ना भएका बिरामीलाई कोभिडको जुनसुकै भेरिएन्टबाट बचाउन प्रभावकारी साबित भएको दाबी गरे। ‘त्यसैले ओमिक्रोनविरुद्ध लड्न हाल उपलब्ध खोपहरु कम प्रभावकारी सिद्ध हुने सम्भावना छैन’, उनले भने।

डा रयानले सुरुआती आँकडाहरुबाट ओमिक्रोनबाट डेल्टा र अन्य भेरिएन्टको तुलनामा कम मानिस संक्रमित भएको देखिएको बताए। ‘यो आँकडाले पनि ओमिक्रोनको जोखिम निकै कम रहेको संकेत गर्छ’, उनले भने।

दक्षिण अफ्रिकी रिसर्चको टिममा सहभागी बायरोलोजिस्ट प्रोफेसर एलेक्स सिंगलले भ्याक्सिनबाट सिर्जित एन्टीबडीबाट ओमिक्रोनको बच्ने क्षमता अधूरै रहेको बताए। ‘त्यसैले हाल उपलब्ध खोपहरु ओमिक्रोनविरुद्ध लड्न सक्षम नै रहेका छन्’, उनले भने।

सिंगलले कोभिडको यो नयाँ भेरिएन्टविरुद्ध बुस्टर डोज (अतिरिक्त खोप) एउटा महत्वपूर्ण कदम हुन सक्ने पनि अनुसन्धानबाट पत्ता लागेको बताएका छन्। –एजेन्सी