काठमाण्डौ । नेपालको पहिलो केबुलकार मनकामना केबुलकारको स्तरोन्नतिका लागि आइतबारदेखि ४ दिनका लागि केवुलकार सेवा बन्द गर्ने भएको छ।

केवुलकारको सेवा आउँदो पुस ४ गतेदेखि ७ गतेसम्मका लागि बन्द रहने कम्पनीले जनाएको छ। कम्पनीका अनुसार मर्मतसम्भार सकिएपछि पुस ८ गते बिहीबारबाट केबुलकार सेवा नियमित सुचारु हुनेछ। 

उक्त अवधिभरि केवलकार बटम स्टेसन र रेस्टुरेन्ट सेवा भने यथावत् रहनेछ।

कम्पनीले केवलकारमा प्रयोग हुँदै आएको एनालग कनेक्ट प्रणालीलाई डिजिटल प्रणालीमा स्तरोन्नति गर्न लागिएको हो।

लामो समयदेखि जडान गरिएको प्रविधि र उपकरणमा प्रयोग भएका स्पेयर पार्ट्सहरु पाउनै मुस्किल हुँदै गएपछि यसलाई स्तरोन्नति गर्न लागिएको हो। यसका साथै केबलकारको लठ्ठा, ग्रिपलगायतका उपकरणहरु पनि स्तरोन्नति गर्ने जनाइएको छ।

चालु आर्थिक वर्षबाटै केवलकारलाई नयाँ प्रविधिमा लैजाने योजना रहेको छ।

कम्पनीका अनुसार केवलकारको भवन, टावर, गोन्डोला, बुलह्विललगायत उपकरण भने साबिककै रहनेछ। यो सबै स्तरोन्नति सम्पन्न भएसँगै मनकामना केवलकार मुलुककै पहिलो डिजिटल कनेक्ट सिस्टमसहितको हुनेछ।