काठमाण्डौ । अर्थमन्त्री जनार्दन शर्माले लगानीकर्तालाई समयमै समस्याको जानकारी गराउन आग्रह गरेका छन्। 

बानेश्वरस्थित लगानी बोर्डको कार्यालयमा आइतबार भएको लगानीकर्ताहरूसँगको अन्तरक्रियामा अर्थमन्त्री शर्माले आयोजनाको निर्माण अवधि लम्बिनु भनेको लगानी बढ्ने र घाटा हुने उल्लेख गर्दै आयोजनामा भएका समस्याहरु समयमै जानकारी गराउन आग्रह गरेका हुन्। ‘एउटा आयोजनाको फाइल डेढ महिनादेखि रोकिएको भनेर भर्खर जानकारी गराउनुभयो’, उनले भने, ‘यस्तो जानकारी समयमै हामीलाई गराउनुहोला। यसले सरकारलाई सहजीकरण गर्न र समस्याको समाधान गर्न छिटो अनि सहज हुन्छ।’ 

फाइल नै अड्किँदा आयोजनाको समयावधि लम्बिने र घाटा हुने भन्दै शर्माले समय नै सबैभन्दा ठूलो पुँजी भएको बताए। ‘प्रोजेक्टको समय बित्ने भनेको हाम्रो लगानी बढ्ने हो। अर्को ढंगले भन्ने हो भने हामीलाई घाटा हुने हो। व्यावसायिक रुपले हेर्ने हो भने पनि समय बिलकुलै लम्ब्याउनु हुँदैन’, उनले भने, ‘मुख्य पुँजी भनेकै समय हो।’

नेपाललाई वैदेशिक लगानी आवश्यक रहेको उल्लेख गर्दै मन्त्री शर्माले त्यसका लागि सरकारले पुराना लगानीकर्तालाई थप लगानी गर्न उत्प्ररेणा जगाउने तथा नयाँ लगानीकर्तालाई समेत लगानीका लागि वातावरण तयार गर्ने प्रतिबद्धता व्यक्त गरे। ‘नेपालमा लगानीका प्रशस्त सम्भावनाहरु रहेको र त्यस्ता लगानीले मुलुकको विकासमा महत्वपूर्ण योगदान हुनेछ’, उनले भने, ‘सरकारले उचित सेवासुविधाको व्यवस्था गर्नेछ।’ 

लगानी बोर्डको उपाध्यक्षसमेत रहेका मन्त्री शर्माले लगानी र आयोजनामा रहेका समस्या, अहिलेको अवस्था र समाधानका उपायसहितको टिपोट बनाएर दिन बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टलाई निर्देशन पनि दिए।