काठमाण्डौ । नबिल बैंकले सुदूरपश्चिम प्रदेशअन्तर्गतका विभिन्न गाउँपालिकामा उद्यमशीलता विकास तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ। 

बझाङ जिल्लाको बित्थडचिर गाउँपालिका र डडेल्धुरा जिल्लाको आलिताल गाउँपालिकामा नबिल दिगो बैंकिङ अन्तर्गत उक्त कार्यक्रम सम्पन्न गरिएकोे हो। नबिल बैंकले बित्थडचिर गाउँपालिका र आलिताल गाउँपालिकासँग दिगो बैंकिङअन्तर्गत उद्यमशीलता विकास र वित्तीय पहुँचका लागि समझदारीपत्रमा हस्ताक्षर गरेको छ। 

उक्त साझेदारीमार्फत गाउँपालिकाले स्थानीयस्तरमा सञ्चालन गर्ने विभिन्न उद्यमसम्बन्धी कार्यक्रम तथा तालिम लिएर उद्यम गर्न चाहने उद्यमीहरुलाई गाउँपालिकाको सिफारिसमा बैंकले उद्यम गर्न बैंकको नियमअनुसार कर्जा उपलब्ध गराउने र त्यस्ता कार्यक्रम तथा तालिमहरुमा वित्तीय साक्षरतासम्बन्धी अभिमुखीकरण कार्यक्रमसमेत सञ्चालन गर्ने उद्देश्य रहेको छ।

कार्यक्रममा स्थानीय किसान, युवा तथा महिला उद्यमीहरु साथै अन्य गाउँपालिकावासीहरुको उल्लेख्य संख्यामा उपस्थिति रहेको थियो। अन्तर्क्रियाका दौरान स्थानीय किसान, युवा तथा महिला उद्यमीहरुले उठाएका जिज्ञासा तथा सुझावहरुको समेत सम्बोधन गरिएको थियो। 

बैतडीको पञ्चेश्वर गाउँपालिकामा ८ दिने तालिम कार्यक्रम सुरु

बैतडी जिल्लाको पञ्चेश्वर गाउँपालिकामा युवा उद्यमशिलता र स्वरोजगार प्रर्वद्धन गरी युवालाई आत्मनिर्भर बनाउँदै समृद्धितर्फ अग्रसर गराउने उद्येश्यका साथ उद्यमशीलता विकास र वित्तीय साक्षरतासम्बन्धी ८ दिने तालिम कार्यक्रम सुरु भएको छ। यस कार्यक्रमका लागि नबिल बैंक, राष्ट्रिय युवा परिषद् र पञ्चेश्वर गाउँपालिका बीच त्रिपक्षीय समझदारी भएको थियो। 

यस कार्यक्रमले स्थानीय युवालाई उद्यमशिलता विकास र वित्तीय साक्षरताको आधारभूत तालिम प्रदान गरी उद्यमका लागि सक्षम बनाउन र उद्यम परियोजनाका आधारमा वित्तीय पहुँच पुर्याई देशभित्रै युवा उद्यम प्रवर्द्धन तथा रोजगारी सिर्जनाद्वारा दिगो आर्थिक विकाशमा योगदान गर्ने लक्ष्य लिएको छ। 

पञ्चेश्वर गाउँपालिकाले युवा उद्यमका लागि आह्वान गरेको सूचनामा दरखास्त दिई छनौट भएका युवाहरु २०७८/०९/११ देखि २०७८/०९/१८ सम्म सञ्चालन हुने यस ७ दिने तालिम कार्यक्रममा १२० जना सहभागी छन् । तालिममा ४०० जनाले आवेदन दिएका थिए।

नबिल बैंकले गत असार १५ गते धान दिवसको दिन नबिल दिगो बैंकिङको सुरुआत गरेको हो। नेपाल सरकारले अवलम्बन गरेको संयुक्त राष्ट्रसंघको दिगो विकासको लक्ष्यलाई सघाउन नबिल बैंकले दिगँे बैंकिङ कार्यक्रमको सुरुआत गरेको हो। कार्यक्रमअन्तर्गत बैंकले नबिल किसान कर्जा र नबिल उद्यमशिल कर्जा सुरु गरेको छ । बैंकले ग्रामीण क्षेत्रमा वित्तीय पहुँच न्यून भएका वर्गलाई कृषि क्षेत्रको व्यवसायीकरण र उद्यमशिलता विकासका लागि ल्याएका यी कार्यक्रम सुरुमा १७ वटा दुर्गम शाखाहरुबाट सञ्चालन गर्दै आएको छ।