काठमाण्डौ । नवील बैंकले नेपाल बंगलादेश(एनबी) बैंकलाई प्राप्ति गर्ने सम्झौता गरेसँगै नेपालको बैंकिङ उद्योग तरङ्गित भएको छ । 

एकातिर नवील र बंगलादेश बैंक एक भएर ठूलो वित्तीय संस्था हुने देखिएको छ भने अर्कोतिर हिमालयन बैंक र इन्भेष्टमेन्ट बैंकको मर्जर प्रक्रिया अन्तिम चरणमा छ । मर्जरपछि नै ग्लोबल आइएमई बैंक सबैभन्दा ठूलो बैंकको रुपमा यसअघि नै स्थापित भइसकेको छ। 

उद्योगमा ठूला वित्तीय संस्थाहरुको जन्म धमाधम भइरहँदा अन्य ‘ठूला’ भनिएका बैंकहरुमा पनि दवाब सिर्जना भएको छ । अब ठूला भनिएका बैंकहरु समेत कुनै न कुनै बैंकसँग मर्जरमा गएर साइज ठूलो नबनाई धर नहुने अवस्था बनेको छ । 

हिमालयन–इन्भेष्टमेन्ट र नवील–एनबी बैंकबीचको मर्जरसम्बन्धी सकारात्मक खबरले दवाबमा परेका अन्य बैंकहरु समेत आफ्ना मिल्दाजुल्दा पार्टनरको खोजीमा अगाडि बढेका छन् । यो क्रममा उद्योगको कान्छो वाणिज्य बैंक ‘सेञ्चुरी कमर्सियल’ पनि अर्को एक वाणिज्य बैंकसँग मर्जमा जाने संभावना प्रवल देखिएको छ । 

सेञ्चुरी कमर्सियल बैंक लामो समयसम्म नवील बैंकमै समाहित हुने प्रयासका साथ अगाडि बढेको थियो । तर, नवीलले पहिला एनसीसी र त्यहाँको प्रयास अगाडि बढ्ने अवस्था नदेखिएपछि एनबीसँग मर्जर सम्झौतामा गएपछि सेञ्चुरी कमर्सियल बैंक आफ्नो उपयुक्त मर्जर पार्टनर खोज्ने अभियानमा लाग्यो । 

सेञ्चुरी बैंकका अध्यक्ष राजेश श्रेष्ठ र केही संचालकहरुले यो क्रममा विभिन्न वाणिज्य बैंकहरुसँग मर्जरका लागि कुराकानी गरेका थिए । ती कुराकानी औपचारिकतामै सीमित भए पनि माछापुच्छ्रे बैंकसँगको कुराकानी भने निश्कर्षउन्मुख बन्दै गएको स्रोतहरुले बताएका छन् । 

सेञ्चुरी बैंक र माछापुच्छ्रे बैंकबीच मर्जरका लागि धेरै चरणमा कुराहरु भइसकेका छन् । कर्मचारी समायोजनदेखि सेयर स्वाप रेसियो जस्ता महत्वपूर्ण विषय समेत सहमतिनजिक रहेका स्रोत बताउँछ । 

‘सेञ्चुरीका साथीहरुले १०० बराबर ९० रुपैयाँसम्मको सेयर स्वाप माग्नुभएको छ ।’ माछापुच्छ्रे बैंकका एक संचालकले बिजशालासँग भने–‘हामी ८० सम्म दिन तयार छौं ।’ 

ती संचालकको संकेत ८५ रुपैयाँसम्ममा सेञ्चुरीसँग मर्जरको कुरा मिल्ने संभावना निकै प्रवल छ । 

प्रमुख कार्यकारीको रुपमा कार्यरत तुलसी गौतमले सेञ्चुरी बैंकबाट राजीनामा दिएपछि हाल त्यहाँ कामु सीइओ मनोज न्यौपानेले नेतृत्व हाँकिरहेका छन् । गौतमले छाडेपछि बैंकलाई प्रगतिपथमा लगेको देखेपछि मर्जरमा नगएको अवस्थामा सेञ्चुरीले न्यौपानेलाई नै फूल सीइओ दिने तयारी गरेको थियो ।

तर, माछापुच्छ्रे बैंकसँगको मर्जर छलफल निकै नै सकारात्मक बनेपछि न्यौपानेलाई सीइओ दिने तयारी कार्यान्वयनमा आउन नसकेको स्रोत बताउँछ । 
न्यौपाने कामू सीइओ रहेका कारण कर्मचारी समायोजनका क्रममा धेरै लफडा नहुने दुवै बैंकका संचालकहरुको बुझाई छ । मनोज न्यौपानेलाई डेपुटी सीइओ दिइएको खण्डमा उच्च व्यवस्थापनमा रहेका कर्मचारीहरुको व्यवस्थापनमा खासै सकस नहुने देखिएको छ । अन्य कर्मचारी समायोजनमा समेत खासै समस्या नहुने दुवै पक्षको बुझाई छ । 

सबै कुरा सहमतिनजिक छ भने अब मर्जरकै सम्झौता चाहि कहिले हुन्छ त ? भन्ने प्रश्नमा दुवै बैंकका संचालकहरु भन्छन्–‘नवील र एनबीबीचको मर्जर सम्झौताले हामीमा पनि दवाब सिर्जना गरेको छ । माघभित्रै सम्झौता हुनसक्ने प्रवल संभावना छ ।’