काठमाण्डौ । कोरोनाको तेश्रो लहरको बाबजुद देशको सबैभन्दा नजिकको छिमेकी भारतको अर्थव्यवस्थामा चमक आउने प्रक्षेपण गरिएको छ ।

छिमेकीले विश्वकै सबैभन्दा राम्रो ग्रोथ गर्ने खबर आइरहेको बेला नेपालले भने ७ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य भन्दा खुम्चिएर साढे ३ प्रतिशत हाराहारीमा ग्रोथ गर्ने प्रक्षेपण आइसकेका छन् । 

विश्व बैंकले गरेको प्रक्षेपणअनुसार भारतको आर्थिक वृद्धिदर सन् २०२२ मा विश्वमै सबैभन्दा बढी हुनेछ । यो वर्षका लागि भारतको जीडीपी ग्रोथ ८ देखि ९ प्रतिशतसम्म हुने प्रक्षेपण गरिएको छ । 

विश्व बैंकका अनुसार पूरा विश्वको जीडीपी ग्रोथ ५.५ प्रतिशत प्रक्षेपण गरिएको छ । सन् २०२२ को अप्रीलदेखि २०२३ मार्चसम्मको अवधिमा विश्व अर्थव्यवस्थाको वृद्धिदर ४.१ प्रतिशशत मात्र हुने उसको प्रक्षेपण छ । यो अवधिमा अमेरिकाको अर्थव्यवस्था ५ देखि ३.७ प्रतिशत तथा चीनको आर्थिक वृद्धिदर ८ र ५.१ प्रतिशतको दरले हुनेछ । 

यसैगरी, जापानको अर्थव्यवस्था २०२१-२२ मा १.७ प्रतिशत तथा २०२२-२०२३ मा २.९ प्रतिशतले बढ्नसक्ने प्रक्षेपण गरिएको छ । यी दुई अवधिमा रुसको अर्थव्यवस्था ४.३ प्रतिशत र २.४ प्रतिशतले बढ्नसक्नेछ । 

भारतको आर्थिक वृद्धिदर भने २०२१-२२ मा ८.३ प्रतिशत र २०२२-२०२३ मा ८.७ प्रतिशतसम्म हुने प्रक्षेपण गरिएको छ । 

विश्व बैंकका अनुसार मोदी सरकारले घोषणा गरेको प्रोडक्सन लिंक्ड इन्सेन्टिभ(पीएलआई) स्कीमले देशको अर्थव्यवस्था बढ्न महत्वपूर्ण सहयोग पुग्नेछ । यो स्कीमअन्तर्गत ५ वर्षमा १३ क्षेत्रका लागि १.९७ लाख करोड रुपैयाँ बराबरको सहायता उपलब्ध गराइनेछ । यो स्कीमअन्तर्गतका प्राथमिकताप्राप्त क्षेत्रहरुमा टेलिकम, इलेक्टोनिक्स, अटो पार्ट, फर्मा तथा सोलर इनर्जी आदि छन् । यो ५ वर्षमा ५२० अर्ब डलर बराबरको उत्पादन हुने अपेक्षा गरिएको छ । 

तथापि, संयुक्त राष्टसंघले भने भारतको जीडीपीको ग्रोथको अनुमान ६.५ प्रतिशत मात्र गरेको छ । यो संस्थाले पनि यसअघि भारतको आर्थिक वृद्धिदर ८.४ प्रतिशत हुने प्रक्षेपण गरेको थियो । तर, भ्याक्सेनेसन प्रोग्रेसका बाबजुद कोइलाको कमी र तेलको उच्च मूल्यका कारण आर्थिक गतिविधिमा केही समस्या हुनसक्ने उसको विश्लेषण छ । 

उता, ग्लोबल फर्म अक्सफोर्ड इकोनोमिक्सले भने भारतको चालु वित्त वर्षको जीडीपी ग्रोथ ७.९ प्रतिशत हुने अनुमान गरेको छ । यो संस्थाले भने यसअघि ७.८ प्रतिशतको मात्र ग्रोथ हुने भनेको थियो । 

भारत सरकारले भने २०२१-२२ मा आर्थिक वृद्धिदर ९.२ प्रतिशतले वृद्धि हुने दाबी गरेको थियो । शुक्रबार मात्र जारी नयाँ आँकडाअनुसार अघिल्लो वर्षको तुलनामा यो वर्षको आर्थिक वृद्धिदर सन्तोषजनक हुने देखिएको छ । यो अनुमान गत १७ वर्षकै उच्च पनि हो । 

उता, भारतको केन्द्रीय बैंक आरबीआईले डिसेम्बरमा मौद्रिक नीति जारी गर्दै आर्थिक वृद्धिदर ९.५ प्रतिशत हुने प्रक्षेपण सार्वजनिक गरेको थियो ।