काठमाण्डौ । भारतको राजधानी नयाँदिल्लीमा दैनिक कोरोना संक्रमित थपिने संख्या लगातार घटिरहेको छ । 

बीबीसी हिन्दीकाअनुसार बिहीबार सार्वजनिक गरिएको तथ्यांकअनुसार दिल्लीमा पछिल्लो २४ घण्टामा १२ हजार ३०६ नयाँ संक्रमित पहिचान भए । एकदिनअघि दिल्लीमा १३ हजार ७८५ संक्रमित भेटिएका थिए । 

पछिल्लो २४ घण्टामा दिल्लीको संक्रमणदरमा पनि करिब २ प्रतिशतले कमी आएको छ । एकदिन अगाडि यस्तो दर २३.८६ प्रतिशत रहेकोमा घटेर २१.४८ प्रतिशतमा झरेको हो । 

तर, अघिल्लो दिनको तुलनामा कोरोना संक्रमण भई ज्यान गुमाउनेको संख्या भने बढेको छ । अघिल्लो दिन ३५ जनाको ज्यान गएकोमा पछिल्लो दिन भने ४३ जनाको ज्यान गएको समाचारमा उल्लेख छ । 

दिल्लीमा जनवरी १३ देखि नै दैनिक संक्रमितको संख्या घट्न थालेको थियो । राहातको विषय यो छ कि दिल्लीमा दैनिक थपिने संक्रमितभन्दा निको हुनेको संख्या अधिक रहेको छ । पछिल्लो २४ घण्टामा १८ हजार ८१५ संक्रमित ठीक भएका छन् । बुधबार ठीक हुने संख्या १६ हजार आसपास मात्रै थियो । 

दिल्लीमा सक्रिय संक्रमितको संख्या घटेर ६८ हजार ७३० मा सीमित बन्न पुगेको छ । बुधबार यस्तो संख्या ७५ हजार माथि रहेको थियो । यस्तै, अस्पतालमा भर्ति हुने मानिसको संख्या समेत घटेर २६९८ मा सीमित बन्न पुगेको छ । 

केन्द्रीय स्वास्थ्य मन्त्रालयका सचिव राजेश भूषणले बिहीबार नै भनेका छन् कि दिल्लीका ९९ प्रतिशत संक्रमितमा सामान्य लक्षण मात्र देखिएको छ । 

भारतको कर्नाटकमा पछिल्लो २४ घण्टामा ४७ हजार ७५४ नयाँ संक्रमित थपिएका छन् । यो दिन त्यहाँ निको हुनेको संख्या २२ हजार १४३ रहेको समाचारमा उल्लेख छ । सो राज्यको संक्रमण दर १८ प्रतिशत मात्र छ । सक्रिय संक्रमितको संख्या करिब ३ लाख रहेको छ। 

यस्तै, गोवामा पछिल्लो २४ घण्टामा ३ हजार ३९० नयाँ संक्रमित थपिएका छन् । ३ हजार ७२८ संक्रमित निको भएका छन् । यो राज्यमा २२ हजार हाराहारी मात्रै सक्रिय संक्रमित रहेका छन् । 

यसैगरी, महाराष्ट्रको मुम्बईमा पछिल्लो २४ घण्टामा ५ हजार ७०८ नयाँ संक्रमित थपिएका छन् । निको हुनेको संख्या भने १५ हजार ४४० रहेको छ ।