काठमाण्डौ । नेपाल राष्ट्र बैंकले ‘वान इयर बेन्चमार्क इन्ट्रेस्ट’ लाई प्रयोगमा ल्याएको छ। 

विगत ४ दशकदेखि विश्वव्यापी वित्तीय क्षेत्रमा ब्याजदर निर्धारणको बेन्चमार्क रहेको ‘लाइबोर’ खारेजपछि केन्द्रीय बैंकले ‘वान इयर बेन्चमार्क इन्ट्रेस्ट’ प्रयोगमा ल्याएको हो। ‘लाइबोर’ सन् २०२२ को सुुरुआतसँगै फेजआउट भइसकेको छ। 

नेपालले कतिपय ऋणहरु लाइबोरका आधारमा ल्याएका थिए। त्यो खारेजीपछि अन्योल थियो। त्यसैलाई सम्बोधन गर्दै राष्ट्र बैंकले नयाँ बेञ्चमार्क कार्यान्वयनमा ल्याएको हो।

इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्थाहरुका नाममा परिपत्र जारी गर्दै केन्द्रीय बैंकले एकीकृत परिपत्र २०७८ को एकीकृत इ.प्रा. परिपत्रः १८÷२०७८ को दफा ६ को खण्ड (क) र खण्ड (ख) का अन्य व्यवस्थाहरु यथावत राखी खण्ड (क) मा उल्लिखित ‘वान इयर लिबोर’ दरमा अधिकतम १.२५ प्रतिशतको सट्टामा ‘वान इयर बेन्चमार्क इन्ट्रेस्ट’ दरमा अधिकतम १.७५ प्रतिशत कायम गरी र खण्ड (ख) मा उल्लिखित ‘वान इयर लिबोर’ दरमा ०.२५ प्रतिशतको सट्टामा ‘वान इयर बेच्नमार्क इन्ट्रेस्ट’ दरमा ०.७५ प्रतिशत कायम गरी संशोधन गरिएको जनाएको छ। 

बेञ्चमार्क ब्याज भन्नाले के बुझ्नुपर्छ ? 

अमेरिकी डलरमा अंकित नयाँ ऋणका लागि ‘सेक्योर्ड ओभरनाइट फाइनान्सिङ रेट (एसओएफआर)’, ब्रिटिस पाउन्ड अर्थात जीबीपीमा अंकित नयाँ ऋणका लागि स्टर्लिङ इन्टर बैंक एभरेज रेट (एसओएनआइए), स्वीस फ्र्यान्ङ अर्थात सीएचएफमा अंकित नयाँ ऋणका लागि स्विस एभरेज रेट ओभरनाइट (एसएआरओएन), जापानिज ऐन अर्थात जेपीवाइमा अंकित नयाँ ऋणको लागि टोकियो ओभरनाइट एभरेज रेट (टीओएनए) र युरोमा अंकित नयाँ ऋणका लागि युरो सर्ट टर्म रेट (इएसटीइआर)। 

साबिकको ऋण–सम्झौतामा २०२१ पछि लाइबोरको सट्टामा ‘फलब्याक प्रोभिजन्स’ व्यवस्था भएको हकमा त्यही बमोजिम गर्न भनेको छ। तर, त्यस्तो फलब्याक प्रोभिजनमा एसओएफआर, एसओएनआइए, एसआरओएन, टिओएनए वा इएसटीइआर उल्लेख भएमा साविकको लाइबोरमा आधारित स्वीकृत मार्जिनमा ऋणदाता र ऋणी दुवैको सहमतिमा अधिकतम ५० आधार विन्दु मार्जिन थप गर्न सकिनेछ। 

लाइबरको सट्टामा फलब्याक प्रोभिजन व्यवस्था नभई त्यस्तो ऋण डलरमा अंकित भई लाइबर बेन्चमार्क व्याजदर ओभरनाइट, एक महिना, तीन महिना, ६ महिना वा १२ महिना अवधि भएको हकमा ३० जुन २०२३ सम्म (त्यस्तो लाइबोर बेञ्चमार्क प्रकाशन भएको हकमा) साविक बमोजिम हुनेछ। 

त्यस्तो ऋण टग लिगेसी कन्ट्राक्टअन्तर्गतका ब्रिटिस पाउन्ड तथा जापानी येनमा अंकित भई लाइबोर बेञ्चमार्क व्याजदर एक महिना, तीन महिना वा ६ महिना अवधि भएको हकमा ३१ डिसेम्बर २०२२ सम्म सिन्थेटिक मेथोलोजीबाट गणना हुने लाइबोर (त्यस्तो लाइबोर बेन्चमार्क प्रकाशन भएको हकमा) बमोजिम हुनेछ। 

यसअन्तर्गत नपर्ने साबिकको ऋण–सम्झौताको हकमा लाइबोरको सट्टामा साबिककै अवधिसँग मेल खाने एसओएफआर (अमेरिकी डलरमा अंकित ऋणको लागि), एसओएनआइए (ब्रिटिस पाउन्डमा अंकित ऋणको लागि), एसएआरओएन (स्विसमा अंकित ऋणको लागि), टीओएनए (येनमा अंकित ऋणको लागि) र इएसटीइआर (युरोमा अंकित ऋणको लागि) बेञ्चमार्क इन्ट्रेस्ट रेट लागू हुनेछ। यसो गर्दा लाइबोरमा आधारित स्वीकृत मार्जिनमा ऋणदाता र ऋणी दुवैको सहमतिमा अधिकतम ५० आधार बिन्दु मार्जिन थप गर्न सकिनेछ।