काठमाण्डौ । आइएमई जनरल इन्स्योरेन्स कम्पनी (आईजीआई)ले सञ्चालकलगायत आधारभूत सेयरधनीहरुलाई हकप्रद सेयरबापतको रकम जम्मा गर्न सूचित गरेको छ। 

कम्पनीले एक सूचना जारी गर्दै चुक्तापुँजीको १०ः४ अनुपातमा (अर्थात १० कित्ताबराबर थप ४ कित्ता) हकप्रद जारी गर्नुपूर्व कम्पनीका सञ्चालक र आधारभूत सेयरधनीहरुलाई हकप्रद सेयरबापतको रकम जम्मा गर्न आग्रह गरेको हो। 

सर्वसाधारण सेयरधनीहरुका लागि हकप्रद सेयर आवेदन खुला गर्नुपूर्व सञ्चालकलगायत आधारभूत सेयरधनीहरु (चुक्तापुँजीको १ प्रतिशत र सोभन्दा बढी सेयर धारण गर्ने सेयरधनीहरु) ले आफ्नो हकहिस्सामा पर्न आउने हकप्रद सेयरबापतको रकम बुझाउनुपर्ने व्यवस्था छ। सोही व्यवस्थाबमोजित आफ्नो हकहिस्सामा पर्न आउने हकप्रद सेयरबापतको रकम आउँदो फागुन २ गतेभित्र कम्पनीको नाममा रहेको ग्लोबल आइएमई बैंक लिमिटेडको काठमाण्डौ कान्तिपथमा रहेको ‘कल इन एड्भान्स’ नामक खातामा रकम जम्मा गर्न कम्पनीले आग्रह गरेको छ। 

कम्पनीको गत वैशाख १२ गतेसम्म २३ औँ वार्षिक साधारणसभाले कम्पनीको चुक्तापुँजी १ अर्ब १५ करोड ७५ लाख ८६ हजार रुपैयाँको ४० प्रतिशतले हुन आउने हकप्रद जारी गर्ने विशेष प्रस्ताव पारित गरी निष्कासनको प्रक्रिया अगाडि बढाएको थियो। उक्त हकप्रदलाई नेपाल धितोपत्र बोर्डले गत माघ ६ गते निष्कासन अनुमति दिएको थियो।