काठमाण्डौ । सर्वोच्च अदालतले सिटामोल औषधिको अभाव हुन नदिन र सहज रुपमा उपलब्ध हुने व्यवस्था मिलाउन अल्पकालीन अन्तरिम आदेश दिएको छ।

सर्वोच्चले संघीय सरकार र सातै प्रदेशका सरकारलाई यस्तो आदेश दिएको हो। टीकाबहादुर कुँवरले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय सिंहदरबारसहित सातवटै प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई विपक्षी बनाएर सर्वोच्चमा रिट निवेदन दिएका थिए। 

उक्त रिटमाथि मंगलबार न्यायाधीश मनोजकुमार शर्माको इजलासमा सुनुवाइ भएको हो। इजलासले सिटामोलको अभाव हुनुमा कारण देखाउनसमेत विपक्षीहरुलाई आदेश दिएको छ। यसका साथै दुवै पक्षलाई अन्तरिम आदेश जारी गर्नुपर्ने या नपर्ने भन्नेबारे छलफलका लागिसमेत बोलाएको छ।

उक्त रिटमा बजारमा सिटामोल औषधिको अभाव भएको र संविधानले जनतालाई स्वास्थ्यलाई आधारभूत अधिकारका रुपमा स्वीकार गरेको दाबी गरिएको छ। यसका साथै सामान्य औषधिको समेत अभाव हुँदा सरकार मूकदर्शक बन्नु संविधानकै उपहास हुने रिटमा उल्लेख गरिएको छ।