काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) को सीईओमा सरकारले कृष्णबहादुर कार्कीलाई नियुक्त गरेको छ। गत माघ १७ गते बसेको मन्त्रिपरिषद्को बैठकले कार्कीलाई नेप्सेको सीईओमा नियुक्त गरेको हो। सीईओ कार्कीसँग बिजशालाकर्मीले गरेको छोटो वार्तालापको सारसंक्षेप :

नेप्सेको सीईओमा नियुक्त हुनुभएको छ, अब नेप्सेमा देखिएका कमीकमजोर कसरी सुधार्नुहुन्छ ?

– पहिले त मैले नेप्सेको कार्यक्षेत्र अध्ययन गर्छु। त्यसपछि नेप्सेको व्यवस्थापन चुस्त र दुरुस्त पार्न पहल गर्नेछु। नेप्सेलाई प्रविधिमैत्री र प्रतिस्पर्धी बनाउन लागिपर्नेछु। नेप्सेको व्यवस्थापनमा समस्याहरु देखिएमा आवश्यक गृहकार्य गरेर समाधान गर्नेछु। 

अहिले पुँजीबजारको आकार ठूलो भएको छ। योसँगै इन्साइडर ट्रेडिङ, सेयर कर्नरिङजस्ता विकृतिहरु पनि मौलाएका छन् ? यी विकृति रोक्न कस्तो पहल गर्नुहुन्छ ?

– हो, यी समस्या अहिले विकराल बन्दै गएका छन्। यस्ता समस्याले पुँजीबजार दुर्गन्धित बनेको छ। मैले आफ्नो कार्यकालमा यस्ता विकृति न्यूनीकरणका लागि हदैसम्म प्रयास गर्नेछु। मेरो प्राथमिकको विषय भनेकै पुँजीबजारको विस्तार र विकास गर्नु नै रहनेछ। 

प्रविधिमैत्री बनेसँगै पछिल्लो समय पुँजीबजार ठूलो संख्या लगानीकर्ता भित्रिएका छन्। तर, ब्रोकर संख्या सीमित रहँदा समस्या भइरहेको छ। ब्रोकर संख्या विस्तारमा कस्तो पहल गर्नुहुन्छ ?

– नेप्सेले पुँजीबजारको विस्तार हेरेर ब्रोकरको पूर्वाधार विकास र संख्या बढाउन सिफारिसमात्रै गर्ने हो जस्तो मलाई लाग्छ। ब्रोकर संख्या बढाउने अन्तिम निर्णय धितोपत्र बोर्डले लिने हो। धितोपत्र बोर्डसँग समन्वय गरेर यस विषयमा आवश्यक पहल गर्नेछ। 

केही समयअघि नेप्से र धितोपत्र बोर्डकै नेतृत्व इन्साइडर ट्रेडिङमा मुछिए। सरकारले कारबाही पनि गर्यो। यस्तो अवस्थामा नेप्सेको नेतृत्वमा आउनु भएको छ। तपाइँले आमलगानीकर्तालाई कसरी आश्वस्त पार्नुहुन्छ ?

– तपाइँले सही प्रश्न उठाउनुभयो । तपाइँलाई धन्यवाद । मेरो विचारमा पुँजीबजार एकदमै संवेदनशील क्षेत्र हो। यो क्षेत्रमा सुधार कार्य गर्न धेरै बाँकी छ। यस्तो अवस्थामा नेतृत्वबाटै पदको दुरुपयोग हुनु दुर्भाग्य हो। कुनै पनि सार्वजनिक निकायको नेतृत्व बसेकाहरुले आफ्नो आचरण र कर्तव्य भुल्नु हुँदैन। नैतिकता बहन गर्नुपर्छ। पदप्रति जिम्मेवार हुनुपर्छ। मैले पदको दुरुपयोग गर्ने छैन। पूर्ण रुपमा आफ्नो जिम्मेवारी पालना गर्नेछु। म आमलगानीकर्ता यो विश्वास दिलाउन चाहन्छु कि तपाइँहरुले मेरो कार्यकालमा भएका गतिविधिले मलाई वर्षौंसम्म याद राख्नुहुनेछ। 

तपाइँका भावी योजना के–के छन् ?

– मैले नेप्सेको नेतृत्व सम्हालेपछि अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना बनाएर अगाडि बढ्नेछु। पुँजीबजारमा देखिएका समस्या, लगानीकर्ताले भोग्दै आएका समस्या र बजार सुधारका कार्ययोजना बनाएर तिनलाई प्राथमिकताका आधारमा काम गर्नेछ। त्यसमा सबैको साथ मिल्नेछ भन्ने मलाई विश्वास छ। 

अन्त्यमा, तपाइँलाई फेरि पनि नेप्सेको सीईओ भएकोमा बधाइ छ।  

– धन्यवाद । तपाइँ (मिडियाहरु)ले पनि हामीलाई बेला–बेलामा झक्झकाउनुहुनेछ भन्ने मलाई विश्वास छ। तपाइँहरुकै कारण आममानिसले सही सूचना पाउँछन्। त्यसैले तपाइँहरुले पुँजीबजारमा देखिएका समस्या पहिचान र समाधानका लागि हामीलाई सुझाव दिनुहुनेछ भन्ने अपेक्षा राखेको छु।