काठमाण्डौ । उत्तर कोरियाले साइबर क्राइमबाट करोडौँ डलरको क्रिप्टोकरेन्सी चोरेको र त्यो पैसा मिसाइल परीक्षण परीक्षणमा खर्च गर्न प्रयोग गरिरहेको खुलासा भएको छ। 

संयुक्त राष्ट्र संघले हालै सार्वजनिक गरेको एक प्रतिवेदनमा यस्तो खुलासा गरिएको हो। अनुसन्धानकर्ताहरुका अनुसार सन् २०२० देखि २०२१ का बीच साइबर हमालमार्फत ५० मिलियन डलरभन्दा बढी डिजिटल सम्पत्ति चोरी गरेको थियो। यस्ता हमला प्योङयाङको आणविक र ब्यालिस्टिक मिसाइल कार्यक्रमका लागि ‘राजस्वको महत्वपूर्ण स्रोत’ भएको प्रतिवेदनमा उल्लेख छ। 

उक्त प्रतिवेदन शुक्रबार संयुक्त राष्ट्र संघको प्रतिबन्ध समितिमा पेस गरिएको थियो।

साइबर आक्रमणकारीले उत्तरी अमेरिका, युरोप र एसियाका कम्तीमा तीनवटा क्रिप्टोकरेन्सी एक्सचेन्जलाई लक्षित गरेको थियो।

प्रतिवेदनले सुरक्षा फर्म च्यानालिसिसद्वारा गत महिना प्रकाशित एक अध्ययनलाई पनि उल्लेख गरेको छ। जसमा उत्तर कोरियाली साइबर आक्रमणकारीहरुले गत वर्ष ४०० मिलियन मूल्यको डिजिटल सम्पत्ति चोरिएको थियो।

संयुक्त राष्ट्र संघले सन् २०१९ मा उत्तर कोरियाले साइबर हमलामार्फत आफ्नो ‘सामूहिक विनाश कार्यक्रम’को हतियारका लागि दुई अर्ब डलर उठाएको जनाएको छ।

संयुक्त राष्ट्र सुरक्षा परिषद्ले उत्तर कोरियालाई आणविक परीक्षण र ब्यालेस्टिक मिसाइल प्रक्षेपण गर्न प्रतिबन्ध लगाएको छ। तर, संयुक्त राष्ट्र संघको यो प्रतिवेदनले कडा प्रतिबन्धका बाबजुद पनि उत्तर कोरियाले आफ्नो आणविक र ब्यालिस्टिक क्षेप्यास्त्र पूर्वाधारको विकास जारी राख्न सफल भएको देखाएको छ।

प्रतिबन्धको अनुगमन गर्नेहरुले प्योङयाङले मिसाइल परीक्षणमा ‘उल्लेख्नीय वृद्धि’ गरेको जनाएका छन्। – एजेन्सी