– अर्जुन तिमिल्सिना

काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष रमेशकुमार हमाल पुँजीबजार सुधारसम्बन्धी लगानीकर्ताका जायज माग तत्काल पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। 

नेपाल इन्भेस्टर्स फोरमको प्रतिनिधिमण्डलसँग आज सेबोनमा भएको भेटघाटमा अध्यक्ष हमालले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन्। उनले आफूले पुँजीबजार सुधारका कामदेखि लिएर साना लगानीकर्ताको संरक्षणका कामलाई प्राथमिकता राखेर अगाडि बढ्ने वचन पनि दिएका छन्। ‘म धेरै बोल्न होइन, काम गरेर देखाउन सेबोनमा आएको हुँ’, उनले भने, ‘यसअघि भएका कमीकमजोरलाई सुधार गर्दै अगाडि बढ्ने प्रतिबद्धता पनि गर्छु।’

अध्यक्ष हमालले फोरम टोलीलाई अहिले तत्कालै गर्नुपर्ने काम लिखित रुपमा पेस गर्न पनि आग्रह गरेको फोरम अध्यक्ष तुलसीराम ढकालले बताए। ‘उहाँले अहिले तत्कालै गर्नुपर्ने कामहरु लिखित रुपमा पेस गर्न भन्नुभएको छ, ती काम गरेपछि विस्तार अरु पनि गर्दै जाने उहाँले प्रतिबद्धता जनाउनुभएको छ’, उनले भने।

आफूहरुले विशेषगरी पुँजीबजारमा पछिल्लो समयदेखिएको इन्साइडर ट्रेडिङलगायतका विकृति हटाउन आवश्यक कमद चाल्न अध्यक्ष हमालले आग्रह गरेको ढकालले बताए। ‘त्यस्तै राष्ट्र बैंकबाट पुँजीबजार नै धरासायी हुने गरी ल्याइएका नीतिहरु पुनरावलोकन गर्न आवश्यक समन्वय गर्न पनि हामीले आग्रह गरेका छौँ’, उनले भने, ‘४–१२ को नीति र पछिल्लोपटक सेयर धितो कर्जामा जोखिम भार बढाइएकोले, ती कुरामा समन्वय गरी पुनरावलोकनका लागि पहल गर्न भनेका छौँ।’

ढकालले पुँजीबजारको विकास र विस्तारका लागि बैंकहरुलाई ब्रोकर लाइन्सेन दिने प्रक्रिया अगाडि बढाउन, अहिले अनलाइनबाटै कारोबार हुने भएकोले ब्रोकर कमिसन र डीपी शुल्क घटाउन र साना लगानीकर्ताको लगानी सुरक्षित हुने खालको वातावरण बनाउन सुझाव दिएको बताए।

यसैगरी यसअघिको ५८ बुँदे मागमा पूरा हुन बाँकी मागहरु यथाशीघ्र पूरा गर्न पनि अध्यक्ष हमाललाई सुझाव दिइएको ढकालले बताए।