– अनन्त्य सुन्दर

काठमाण्डौ । नेपालमा अहिले ५० वटा ब्रोकर सञ्चालनमा छन्। सञ्चालनमा रहेका ब्रोकरले दिने सेवासुविधाबाट अधिकांश लगानीकर्तामा असन्तुष्टि भएकाले गर्दा लगानीकर्ताले ब्रोकर संख्या थप्नुपर्ने माग उठाउँदै आएका छन्।

ब्रोकरले समयमा पैसा नहाल्दिने, समयमा सेयर नहाल्दिने, फोन नउठाउनेजस्ता व्यवहारले गर्दा लगानीकर्ता संघसंगठनका नेताहरु नयाँ ब्रोकर थप्ने माग राखेर आन्दोलितसमेत हुँदै आएका छन्। अधिकांश लगानीकर्ता नयाँ ब्रोकर लाइसेन्स वितरण गर्दा बैंक तथा वित्तीय संस्थालाई प्राथमिकतामा राख्नुपर्ने बताउँदै आएका छन्। 

नेपाल धितोपत्र बोर्डको अध्यक्षबाट भीष्मराज ढुंगानालाई सरकारले बर्खास्त गरेपछि लामो समयसम्म अध्यक्ष पद रिक्त थियो। बोर्डमा अध्यक्ष नभएकाले नयाँ ब्रोकर लाइसेन्सको स्वीकृति रोकिएको धेरै लगानीकर्ताको बुझाइ थियो। तर, नयाँ ब्रोकर लाइसेन्स थप्ने कुरा भने सरकारका साथै अर्थमन्त्रीको प्राथमिकतामा नै नपरेको देखिन्छ।

गत बुधबार अर्थ मन्त्रालयमा आयोजित धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) को नवनियुक्त प्रमुखहरुलाई स्वागत कार्यक्रममा अर्थ मन्त्री जनार्दन शर्माले पुँजीबजार सुधारका लागि ११ बुँदे निर्देशन दिएका थिए। निर्देशनमा टीएमएसमा सुधार, ओटीसी बजार विकास, इन्ट्राडे कारोबार, सर्टसेलिङ, अक्सन मार्केटलगायतका विषय समेटिँदै गर्दा ब्रोकर संख्या थप्ने विषय भने छाँयामा परेको देखिन्छ।

अर्थमन्त्री शर्माले दिएका ११ बुँदे निर्देशनको निर्देशन ७ मा ‘ब्रोकरलाई सक्षम बनाउन ‘सबब्रोकर’ मोडल तयार गर्ने, डेरिभेटिभ्स औजार बनाई कारोबार गर्ने, कमोडिटी एक्सचेन्जसम्बन्धी ऐनलाई अगाडि बढाउने, यो ऐन बनेको ४ वर्ष भयो’ भनिएको छ। अर्थात् निर्देशनमा नयाँ ब्रोकर लाइसेन्सको विकल्पमा ‘सबब्रोकर’ राखिएको देखिन्छ।

ब्रोकरहरु भने सञ्चालनमा भएका ५० वटा ब्रोकरको कार्यक्षेत्र विस्तार साथै प्रणालीमा सुधार गर्ने हो भने अहिले सञ्चालन भएको ब्रोकर संख्या नेपालको पुँजीबजारका लागि पर्याप्त भएको बताउँदै आएका छन्।

बजार सुधारका साथै विस्तारका लागि अहिले सञ्चालनमा भएको ब्रोकरको संख्या बाधक रहेको भन्ने लगानीकर्ताको बुझाइ नै गलत भएको एक ब्रोकर सञ्चालक बताउँछन्। नयाँ ब्रोकर लाइसेन्स वितरण गर्नुभन्दा भएका ब्रोकरहरुलाई नै सब–ब्रोकर, आधिकारिक प्रतिनिधि, एजेन्ट नियुक्ति, शाखा विस्तारलगायतका बाटाहरु खोलिदिँदा सहज हिसाबले कम लागतमा नै बजार विस्तार र विकास हुने ती ब्रोकरले बताए।

स्वतन्त्र पुँजीबजार संघका अध्यक्ष रोहन कार्की नेपालको इतिहासमा नै पहिलोपटक अर्थमन्त्रीले नेपाल धितोपत्र बोर्डको अध्यक्ष, नेपाल स्टक एक्सचेन्जका सीईओ, अर्थसचिवलगायत बजारका समग्र सरोकारवालालाई राखेर बजार सुधारका लागि दिइएको ११ बुँदे निर्देशन सकारात्मक र स्वागतयोग्य रहेको बताए। ‘११ बुँदेमा हामी लगानीकर्ताले बजार विस्तार र सुधारका लागि उठाउँदै आएको धेरै माग समेटिएका छन्’, कार्कीले भने, ‘तर, बैंकलाई ब्रोकर लाइसेन्स र नयाँ ब्रोकर थप्ने माग भने उक्त निर्देशनमा समेटिएको छैन। निर्देशनको ड्राफ्ट बनाउनेले नै ब्रोकर लाइसेन्सको कुरा चलाखीपूर्ण हिसाबले हटाएको हाम्रो बुझाइ छ।’

नयाँ ब्रोकर लाइसेन्स थप्नुका साथै बैंकलाई ब्रोकर लाइसेन्सको कुरा आफूहरुले धेरै अघिदेखि उठाउँदै आएको कार्की बताउँछन्। ‘हामीले बारम्बार नयाँ ब्रोकरको आवश्यकताबारे सामाजिक सञ्जालका साथै विभिन्न फोरममा बोल्दै र लेख्दै आएका छौँ’, उनले भने, ‘नयाँ ब्रोकरको आवश्यकता लगानीकर्ताले मात्र नभएर सेबोनले महसुस गर्नुका साथै ब्रोकरहरु पनि बैंकलाई ब्रोकर लाइसेन्स दिनुपर्नेमा कनभिन्स भएका छन्।’

‘हामी अहिले भने अर्थमन्त्रीको निर्देशन र भनिएको बजार सुधारको कामहरु नवनियुक्त नेतृत्वहरुबाट कसरी हुन्छ भनेर नजिकबाट हेरिरहेका छौँ’, कार्की भन्छन्, ‘हामी लगानीकर्ताले उठाएका माग समयमै कार्यान्वयनमा नआएमा उचित समयमा आवश्यक कदम चाल्न बाध्य हुने छौँ। हामी निरन्तर खबरदारी गरिरहने छौँ।’