काठमाण्डौ । नेपाल सरकारको प्रमुख आर्थिक सल्लाहकार नेपाल राष्ट्रबैंकका गभर्नर महाप्रसाद अधिकारी र अर्थमन्त्री जनार्दन शर्माको सम्बन्ध चिसिएको लामो समय बित्दा पनि सुध्रिन सकेको छैन । 

यी दुई व्यक्तिबीच समन्वय नहुँदा अर्थतन्त्र डामाडोल बन्दै गएको छ । एकअर्काले ल्याएको नीति असफल बनाउने र आपसमा प्रहार गर्ने खेलमा लामो समयसम्म शर्मा र अधिकारी व्यस्त हुँदा त्यसले अर्थतन्त्रलाई धरापमा पारेको छ । 

अर्थमन्त्री शर्मा र गभर्नर अधिकारीबीचको लामो समयको तिक्तताको प्रभाव अर्थतन्त्रमा पर्दा समेत समाधान खोज्ने गरी कतैबाट पनि कुनै पहल हुन सकेको छैन । 

अर्थमन्त्री शर्मा र गभर्नर अधिकारीबीच बोलचाल नै बन्द भएको ८ महिना बितिसकेको छ । ‘उहाँहरुबीच सार्वजनिक समारोहहरुमा पनि औपचारिकताका लागि(अरुका अगाडि देखाउन) मात्रै हाई हेल्लो हुने गरेको छ ।’ अर्थमन्त्रालयका एक अधिकारी भन्छन्–‘बोलचाल नै बन्द भएको ८ महिना बढी भइसकेको छ ।’

बोलचाल नै नभएका कारण अर्थमन्त्रालयले आयोजना गर्ने कतिपय कार्यक्रममा गभर्नर आफैं सहभागी हुँदैनन् । औपचारिकताका लागि आफ्नो प्रतिनिधि पठाउने गरेका छन् । 

ती अधिकारीका अनुसार अर्थमन्त्री र गभर्नरबीच सुमधुर सम्बन्ध भई संकटमा परेको अर्थतन्त्र उकास्नका लागि नियमित छलफल र सहकार्य हुनुपर्नेमा बोलचाल नै बन्द हुँदा त्यसको मार अर्थतन्त्रमा परिरहेको छ । ‘मुलुकको अर्थतन्त्रको बागडोर सम्हाल्ने अर्थमन्त्री र सरकारको प्रमुख आर्थिक सल्लाहकारको भूमिकामा रहने गभर्नरबीच नै बोलचाल बन्द हुने अवस्था बन्नु मुलुककै लागि दुर्भाग्यको विषय हो ।’ ती अधिकारीले भने–‘अहिले अर्थतन्त्रमा देखिएका समस्याहरुको कारक एक हदसम्म अर्थमन्त्री र गभर्नरबीचको तिक्ततापूर्ण सम्बन्ध पनि हो ।’ 

फरक राजनीतिक विचारका अर्थमन्त्री र गभर्नरबीच सैद्धान्तिक असहमति हुने घटना नेपालमा यसअघि पनि नभएको भने होइन । तर, अहिलेका अर्थमन्त्री र गभर्नरबीचको जस्तो अति नै तिक्ततापूर्ण सम्बन्ध भने कहिल्यै नोटिसमा नआएको नेपाल राष्ट्रबैंकका एक कार्यकारी निर्देशक दाबी गर्छन् । ‘अर्थतन्त्र नबुझ्ने अर्थमन्त्री आफूलाई सबैभन्दा जान्ने ठान्नुहुन्छ, त्यस्तै विचार लाद्न खोज्ने उहाँको प्रवृति र अरुसँग छलफल नगर्ने एकाङ्की बानीले समस्या थप चर्काउँदै लगेको बुझिन्छ ।’ ती अधिकारीले भने–‘गभर्नर पनि इगो साँध्ने खालको हुनुहुन्छ । एमाले–माओवादी पार्टीबीचको तिक्ततापूर्ण सम्बन्ध जस्तो छ, अर्थमन्त्री र गभर्नरबीचको सम्बन्ध त्योभन्दा अझ नाजुक स्तरमा पुगिसकेको छ ।’

अर्थमन्त्री शर्मा माओवादी केन्द्रका नेता हुन् भने गभर्नर अधिकारी एमालेको सिद्धान्तमा प्रतिबद्ध कार्यकर्ता हुन् । केपी ओली नेतृत्वको सरकारले उनलाई गभर्नरमा नियुक्त गरेको थियो । पूर्व अर्थमन्त्री डा. युवराज खतिवडाका खास प्रिय गभर्नर अधिकारीको परफरमेन्सको विषयमा एमालेकै नेताहरु पनि सन्तोषजनक मान्दैनन् । 

एमाले कार्यकर्ता भएका कारण गभर्नर अधिकारी विभिन्न लाभको पदमा पुगिसकेका छन् । तर, उनको प्रदर्शन भने औसत मात्र रहने गरेको छ। लगानी बोर्डमा कार्यकारी भूमिकामा रहँदा पनि उनले परिणाममुखी काम गर्न सकेका थिएनन् । 

अर्थमन्त्री शर्मालाई आर्थिक वृत्तमा एक ‘असफल अर्थमन्त्री’को रुपमा टिप्पणी गर्न थालिएको छ । अर्थतन्त्र नबुझ्ने उनले दिने विवादास्पद अभिव्यक्तिको समेत पछिल्लो समय नकारात्मक टिप्पणी हुने गरेको छ । उनकै असक्षमताका कारण अर्थतन्त्र डामाडोल बन्दै गएको र त्यसलाई रोक्न सरकारले प्रभावकारी कदम चाल्न नसकेपछि कांग्रेस नेतृत्वको सरकार आलोचनाको शिकार भइरहेको छ । 

प्रधानमन्त्री शेरबहादुर देउवाले उनलाई अर्थमन्त्रीबाट पटक–पटक हटाउने प्रयास गरे पनि माओवादी केन्द्रमा शर्माको गतिलो प्रभाव रहेका कारण त्यो संभव भएको छैन । यदि माओवादीका अध्यक्ष प्रचण्डको साथ रहे अर्थमन्त्रीबाट शर्मालाई हटाएर कांग्रेसकै कुनै नेतालाई लैजाने र संकटग्रस्त अर्थतन्त्रलाई ट्रयाकमा ल्याउने देउवाको तयारी रहेको स्रोतहरु बताउँछन् ।