काठमाण्डौ । प्रोग्रेशिभ फाइनान्स लिमिटेडको २५ औँ वार्षिक साधारणसभाबाट गत आर्थिक वर्षको लाभांश अनुमोदन भएको छ। 

ललितपुरको ललितपुर–९ ज्यापू प्रज्ञा भवनमा आज भएको सभाले आर्थिक वर्ष २०७७/७८ का लागि प्रस्तावित चुक्तापुँजीको कुल ६.३१५८ प्रतिशतले हुन आउने लाभांश अनुमोदन गरेको हो। जसमा ६ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.३१५८ प्रतिशत नगद लाभांश छन्।

सभाले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्था एकआपसमा गाभ्ने, गाभिने र प्राप्ति प्रक्रियाका लागि गर्नुपर्ने आवश्यक सम्पूर्ण गतिविधि गर्ने पूर्ण अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने विशेष प्रस्ताव पनि पारित गरेको छ। 

सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनलगायतका सम्पूर्ण दस्तावहरु अनुमोदन गरेको छ। 

सभामा संस्थाका अध्यक्ष किशोरकुमार महर्जनले सञ्चालक समितिका तर्फबाट प्रतिवेदन पेस गर्दै संस्थाले आर्थिक वर्ष २०७७/७८ मा गरेका कार्यक्रम तथा गतिविधिहरुका बारेमा प्रकाश पारेका थिए। 

सभामा वार्षिक प्रतिवेदनका सम्बन्धमा उठेका प्रश्न एवं जिज्ञाशाहरुको जवाफ दिँदै अध्यक्ष महर्जनले संस्था अपेक्षित रुपले प्रगतिपथमा लम्किरहेको जानकारी गराए। उनले सेयरधनीहरुबाट प्राप्त सल्लाह तथा सुझावहरुको सरहाना गर्दै आगामी दिनहरुमा यस्ता सुझावहरुको कार्यान्वयनका लागि प्रतिबद्धता व्यक्त गरे।