– अनन्त्य सुन्दर

काठमाण्डौ । पछिल्लो समय नेपाली अर्थतन्त्र चिन्ताजनक अवस्थामा भएको वित्तीय जानकार एवं अर्थविद्हरुले बताउँदै आएका छन्। समयमा सरकारको पुँजीगत खर्च नहुनु, तरलता संकट, बढ्दो ब्याजदर, महँगीलगायतले अर्थतन्त्रमा अहिले प्रत्यक्ष रुपमा असर गरेको छ।

बैंकहरुमा बढ्दो ब्याजदरका साथै लगानीयोग्य रकम नहुँदा व्यवसायी, लगानीकर्ता, उद्योगी सबै मर्कामा परेको अवस्था छ। 

पूर्वअर्थसचिव रामेश्वर खनाल भने बजारमा बैंकहरुमा लगानीयोग्य रकमको हाहाकार भयो भन्ने हल्लामात्र भएको बताउँछन्। ‘राष्ट्र बैंकलगायत अन्यलाई बैंकिङ प्रणालीमा लगानीयोग्य रकम छैन भनिएको मात्र हो’, खनाल भन्छन्, ‘जग्गा किन्न, अन्य क्षेत्रमा लगानी गर्न बैंकहरुले आफूले पत्याएको मान्छेलाई खुरुखुरु पैसा दिँदैछन्।’

‘सेयर पुँजी वृद्धि गरेका बैंकका सीईओहरुलाई सञ्चालकका साथै सेयरधनीहरुलाई खुसी बनाउन बढी लाभांश दिनुछ। कम्तीमा ५० प्रतिशत लाभांश दिन पनि वर्षमा ४ अर्ब कमाउनुपर्छ’, खनालले भने, ‘लाभांश जति बढी दिन सक्यो, त्यति नै धेरै सीईओ, कर्मचारीले काम गरेको देखिन्छ। बढी नाफा कमाउन बढी लगानी गर्नुपर्छ। त्यसैले बढी लगानी गर्दा अहिलेको अवस्था सिर्जना भयो।’

बैंकहरुले पैसा भेट्नेबित्तिकै अर्को बैंकको ऋणीलाई तानेर पनि लगानी गरिरहेको खनालले बताए। ‘ऋण तिर्न नसकेर कालो सुचीमा पर्ने ऋणीहरुको सूची लामो छ। पोहोर साल कालो सूचीमा पर्नेहरुको संख्या १५ हजार थियो। अहिले ८–९ महिनाको अवधिमा नै २४ हजार पुगेको छ’, खनाल भन्छन्, ‘पैसा तिर्न नसक्ने मान्छेहरुलाई पनि बोलाई बोलाई कर गरेर ऋण दिएकाले अहिलेको अवस्था सृजना भएको हो। अहिले बैंकहरुले काम गरेको शैलीलाई नै निरन्तरता पाउने हो भने नेपाल लगानी योग्य रकम कहिल्यै पर्याप्त हुँदैन।’

‘गार्हस्थ्य उत्पादन ४३०० अर्ब हुँदा निक्षेप ४४०० अर्ब छ। उत्पादन रकम भन्दा बढी जम्मा कसरी गर्न सकिन्छ ?’, प्रश्न गर्दै खनाल भन्छन्, ‘अत्यधिक वित्तीयकरण भएकाले सीमित वर्ग धनी भएका छन्। नचाहिने क्षेत्र, नचाहिने काममा सीमित व्यक्तिले लगानी गर्दा आयको असमानता बढ्नुका साथै अर्थतन्त्रमा विदेशी मुद्राको अभाव जस्ता समस्या सृजना भएको छ।’

चुनावको बेला नगद कारोबार बढ्नुका साथै लुकाएर राखिएको पैसा औपचारिक च्यानलमा आउने भएकाले प्रणालीमा तरलता बढ्ने खनाल बताउँछन्। ‘कसैले अनौपचारिक च्यानलमा भएको नगद होटलमा गएर खर्च गर्यो भने त्यो होटलको सञ्चालकले कुनै न कुनै बैंकमा नै गएर पैसा डिपोजिट गर्छ’, खनाल भन्छन्, ‘अनौपचारिक क्षेत्रमा लुकेर बसेको पैसा पनि औपचारिक च्यानलमा आउने भएकाले चुनावको बेला बैंकिङ प्रणालीमा तरलता बढ्ने गरेको छ।’

बैंकिङ प्रणाली चुनावका लागि भारतीय गाडीका लागि भुक्तानी, भारतबाट नै प्रचार सामग्री खरिदजस्तो गतिविधि हुँदा पैसा बाहिर जाने खनाल बताउँछन्। ‘तर, नेपालमा नै चुनावी खर्च गर्ने हो भने उक्त पैसा बैंकमा नै फर्केर आउँछ’, उनले भने।