काठमाण्डौ। स्वाबलम्बन विकास केन्द्रको संयोजनमा तेस्रो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन भोलि चैत २८ गतेदेखि हुने भएको छ।

चैत २९ गतेसम्म चल्ने सम्मेलनमा लघुवित्त कार्यक्रम सञ्चालन गरेका २०० संस्थाहरुबाट ६०० जना सदस्य तथा संस्था प्रतिनिधिको सहभागिता रहने केन्द्रले जनाएको छ। सम्मेलनमा ७९ वटा लघुवित्त वित्तीय संस्था र १५० वटा सहकारी संस्थाले ७७ वटै जिल्लामा पुगेर लघुवित्त सेवा प्रदान गरिरहेको र उनीहरु सम्मेलनमा सहभागी हुने केन्द्रका अध्यक्ष शंकरमान श्रेष्ठले बताए।

अध्यक्ष श्रेष्ठका अनुसार लघुवित्त वित्तीय संस्थाहरुको मात्र ४३० अर्ब रुपैयँभन्दा वढी कर्जा लगानीमा भएको र जसमध्ये ३७१ अर्ब रुपैयाँ खुद्रा र ६९ अर्ब थोक कर्जा प्रदायक लघुवित्त संस्थाहरुले लगानी गरेका छन्। 

२०७५ सालसम्म २७ लाख मानिसले लघुवित्त सेवा प्राप्त गरेको दाबी केन्द्रको छ। पछिल्लो ३ वर्षको अवधिमा लघुवित्त सेवा प्राप्त गर्नेहरुको संख्या सतप्रतिशतभन्दा धेरै बढेको जनाइएको छ।

करिब ५४ लाख ५० हजार महिला तथा १ लाख ५० हजार पुरुषहरुले यो सेवा प्राप्त गरेका छन्। मुलुकभर ४ हजार ९६५ शाखामार्फत २३ हजार २८१ लघुवित्तकर्मी लघुवित्त सेवामा संलग्न रहेको दाबी संस्थाको रहेको छ।

‘घर–घरमा उद्यम फैलाऔँ, गरिबीलाई शून्य वनाआँ’ भन्ने मूल नारासहित तेस्रो सम्मेलनको आयोजना गरिन लागेको श्रेष्ठले बताए।