काठमाण्डौ। नेपाल बैंकर्स एसोसिएसन (एनबीए) ले दुईपांग्रे निजी विद्युतीय सवारी साधनसहित सबै निजी गाडी, ड्राई फुड, फर्निचर, चुरोट, रक्सी, सजावटका सामग्री, पफ्युम, मोबाइललगायतका सामग्री आयातका लागि प्रतितपत्र(एलसी) नखोल्न आफ्ना सदस्य बैंकलाई निर्देशन दिएको छ।

आइतबार बसेको एनबीएको बैठकले विद्युतीय दुईपांग्रे निजी सवारी साधनसहित अन्य सबै खालका निजी सवारीसाधन, ड्राई फुड, फर्निचर, चुरोट, रक्सी, सजावटका सामग्री, पर्फ्युम, मोबाइललगायतका सामग्री आयातका लागि एलसी नखोल्न एलसी नखोल्न र सोहीअनुसार शाखा कार्यालयहरुलाई सर्कुलर पठाउन निर्देशन दिएको हो। बैठकले वाणिज्य मन्त्रालयलाई अत्यावश्यकबाहेका वस्तुहरुको थप सूची तयार गरिदिन अनुरोध गर्ने निर्णयसमेत गरेको एक बैंकरले जानकारी दिए। 

नेपाल राष्ट्र बैंकले अघिल्लो साता वाणिज्य बैंकहरुका सीईओहरुलाई आकस्मिक छलफलमा बोलाएर अत्यावश्यकबाहेक वस्तुहरुको एलसी नखोल्न निर्देशन दिएको थियो। 

विदेशी मुद्राको सञ्चिती भयावह रुपले घट्न थालेकै बेला आयातसमेत अचाक्ली बढेसँगै अर्थतन्त्र संकटोन्कुख भएको निष्कर्ष निकाल्दै केन्द्रीय बैंकले एकपछि अर्को आयात प्रतिस्थापनको नीति कार्यान्वयन गर्दै आएको छ। यसअघि राष्ट्र बैंकले दुईपटक गरी ६७ उपसूचकअन्तर्गत पर्ने १ हजार ३५० वस्तु आयातका लागि ५० देखि १०० प्रतिशतसम्म नगद मार्जिन राख्नुपर्ने व्यवस्था गरेको थियो। यससँगै अब यी वस्तुहरु आयातका लागि वाणिज्य बैंकहरुले एलसी खोल्ने छैनन्। 

राष्ट्र बैंकले एक साताअघि वाणिज्य बैंकहरुलाई अत्यावश्यबाहेकका वस्तुहरु आयातका लागि एलसी नखोल्न मौखिक निर्देशन दिएको थियो।