काठमाण्डौ । विभिन्न कर्मचारी संघसंगठनले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीमाथि गरिएको कारबाही अविलम्ब फिर्ता लिन सरकारसँग माग गरेका छन्।

नेपाल राष्ट्र बैंक कर्मचारी संघ, सञ्चय कोष कर्मचारी संगठन, राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ, नेपाल बैंक कर्मचारी संघ र कृषि विकास बैंक कर्मचारी संघले आइतबार संयुक्त विज्ञप्ति जारी गर्दै यस्तो माग गरेका हुन्। गत बिहीबारको मन्त्रिपरिषद्को निर्णयअनुसार गभर्नर अधिकारीलाई आधारहीन एवं कोपकल्पित आरोप लगाउँदै निलम्बनप्रति गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ।

‘विद्यमान विश्व अर्थतन्त्र र परिस्थितिको आँकलन गर्दै तथा केही राष्ट्रहरुले भोग्दै आएको आर्थिक संकटबाट पाठ सिक्दै केन्द्रीय बैंकबाट समयमै प्रेषित सूचना र सुझावको कार्यान्वयन गरी मुलुकको अर्थतन्त्रको उद्धारमा संवेदनशील हुनुपर्ने जिम्मेवार तालुक मन्त्रालय र सरकारको ध्यान केन्द्रीय बैंकप्रति ‘हलो अड्काउने र गोरु चुट्ने’ नीति अख्तियार गर्ने देखिएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘केन्द्रीय बैंकको स्वायत्ततामाथि नाङ्गो हस्तक्षेप गर्दै गैरकानुनी निर्देशन दिनमै केन्द्रित भएको जगजाहेर भइसकेको छ।’

यो संकटपूर्ण घडीमा राज्यका सबै तह र तप्काका निकाय, संस्था र आम जनसमुदायको विश्वास र सहकार्य जुटाउँदै राष्ट्रिय एवं अन्तर्राष्ट्रिय कानुन परिपालना गर्नुभन्दा आफ्ना कमजोरी र अक्षमतालाई ढाकछोप गर्ने उद्देश्यका साथ राजनीतिक प्रतिशोध र सीमित स्वार्थका खातिर एउटा स्वायत्त एवं संवेदनशील निकायको जिम्मेवार पदाधिकारीमाथि देशको समग्र वित्तीय प्रणाली र अर्थतन्त्रमाथि दीर्घकालीन नकारात्मक असर पर्ने गरी सुरु गरिएको कारबाही हरतरहले निन्दनीय रहेको विज्ञप्तिमा स्पष्ट पारिएको छ।

यस्ता प्रवृत्तिहरु नरोकिन र नसच्चिने हो भने समग्र अर्थतन्त्रको स्वस्थता र वित्तीय प्रणालीको स्थायित्वका लागि ट्रेड युनियन अधिकारको प्रयोग गर्न बाध्य हुने विज्ञप्तिमा चेतावनी दिइएको छ। ‘यसबाट आउनसक्ने सबै परिणामको जिम्मेवारी सम्बन्धित निकाय तथा पदाधिकारी स्वयंले लिनुपर्नेछ’, विज्ञप्तिमा भनिएको छ।