-अनन्त्य सुन्दर 

काठमाण्डौ । राष्ट्र बैंकको ६७ औँ वार्षिकोत्सवका अवसरमा बालुवाटारमा आयोजित कार्यक्रममा राष्ट्र बैंकले पूर्व गभर्नर तथा अर्थविद् डा. तिलकबहादुर रावललाई सम्मान गरेको छ। कार्यक्रममा सम्मानित राष्ट्र बैंकका ११ औ गभर्नर रावलले आफ्नो मन्तव्यमा राष्ट्र बैंकका वर्तमान गभर्नर महाप्रसाद अधिकारी पुनः राष्ट्र बैंकमा फर्किएसँगै शुभकामना व्यक्त गरेका थिए।

गत चैत २४ गतेको मन्त्रिपरिषद् बैठकले पूर्व न्यायाधीश पुरुषोत्तम भण्डारीको अध्यक्षतामा जाँचबुझ समिति गठन गरेसँगै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी स्वतः निलम्बनमा परेका थिए। 

निलम्बित गभर्नर अधिकारीलाई मङ्गलवार सर्वोच्च अदालतमा न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासले छानबिन गर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएसँगै उनी पुनः राष्ट्र बैंक फर्किएका थिए। सरकारले गभर्नरलाई अल्पकालीन अन्तरिम आदेश दिएको हो। तर आज राष्ट्र बैंकबाट सम्मान पाएर मख्ख देखिएका पूर्व गभर्नर रावल भने गभर्नर अधिकारीलाई आफूलाई झैँ अदालतले राहत दिएको भनी प्रस्तुत भए।

झन्डै १५ मिनेटको भाषणमा हर्षित मुद्रामा देखिएका उनले अधिकांश समय राष्ट्र बैंकको गभर्नरको गुणगान, न्यायाधीश हरिप्रसाद फुयाँल गुणगान र सरकारलाई आरोप प्रत्यारोप लगाउनमा नै बिताए।

सामान्यतया सार्वजनिक पद धारणा गरिसकेको व्यक्तिले अदालतमा विचाराधीन मुद्दामा कुनै पनि पक्षको पक्षपोषण वा विरोध गरेर सार्वजनिक अभिव्यक्ति दिनु शोभनीय मानिदैन । तर, वर्षौअघि आफूलाई पनि परेको पीडा सम्झिएर होला डा. रावल बढी नै भावुक देखिन्थे । 

'करिब २० वर्ष अघि आफू जुन मारमा परेका थिए। जुन अदालतले मलाई राहत दिएर पुन राष्ट्र बैंकमा फर्केको थिए। आज सोही अदालतले आज नेपाल राष्ट्र बैंकका वर्तमान गभर्नर महाप्रसाद अधिकारीलाई पनि पुन राष्ट्र बैंकमा फर्काएको छ' रावल भन्छन्,-'राष्ट्र बैंकमा फर्केकोमा गभर्नर अधिकारीलाई बधाई छ। आगामी दिनहरूमा जोस जागर सहित राष्ट्र र राष्ट्रिय अर्थतन्त्रको हितमा काम गर्न सक्ने शुभकामना साथै विश्वास रहेको छ।'

'कोरोनाले शिथिल परेको कठिन परिस्थितिमा उद्यमी, कृषक साथै जनताहरूले आशा गरेको अनुरूप सरकारले बजेट मार्फत केही गर्न सकेन। अन्य राष्ट्रहरूले विभिन्न स्टिमुलस प्याकेज बजेट साथै विशेष व्यवस्था गरेर ल्याउँदा सरकारले भने केही गर्न नसकेको तथ्याङ्क साथै सबैलाई जानकार छ। त्यस्तो बेला नेपाल राष्ट्र बैंकले भने गभर्नर महाप्रसाद अधिकारीको नेतृत्वमा लचिलो मौद्रिक नीति ल्याएर उद्योगी, व्यापारी, कृषि, वित्तीय क्षेत्र सबैलाई राहत पुर्‍याउने काम गर्‍यो। शिथिल अर्थतन्त्रलाई मलम पट्टी गर्न मौद्रिक नीतिले सहयोग गरेको तथ्याङ्क साथै सबैले बोलेको कुरा हो।' राष्ट्र बैंकको गुणगान गाउँदै रावल भन्छन्,-'नेपाल राष्ट्र बैंकले राम्रै काम गरिरहेको थियो र गरिरहेको छ।'

'नेपाल राष्ट्र बैंकले केही गरेन, गर्न सकेन भन्ने कुरा गलत हो' गभर्नर अधिकारीको बचाऊ गर्दै उनले भने,-'विवादमा नजाऊ, दुर्घटना हुन् सक्ने शिथिल अर्थतन्त्र भएकाले अहिले सबै मिलेर काम गर्ने बेला हो।'

गभर्नर अधिकारीलाई फसाउन खोजिएको सङ्केत गर्दै व्यङ्ग्यात्मक शैलीमा रावल भन्छन्-'यहाँ बोल्यो भने धेरै बोल्छ भनेर रिसराग गरेर फसाउन सक्छन्। मैले बीस वर्ष अगाडि के बिराएको थिए ? कृष्णजङ्ग रायमाझी र तोपबहादुर सिंह जस्ता एउटा दाग नभएका न्यायमूर्तिहरू हातमा परेर मैले न्याय पाएको हुँ।'

गभर्नर अधिकारीको केसलाई इंगित गर्दै रावल भन्छन्,-'मर्कामा परेको महाप्रसाद जीलाई न्याय दिने अवसर प्राप्त गर्नु भएको फुयाँल सर (हरिप्रसाद फुयाँल( पनि भाग्यमानी हुनुहुन्छ। महाप्रसाद जीको बाँकी ५ वर्षको अवधि पूरा प्राप्त होस्, बीचमा बाधाबन्धन केही नआओस्।'

पूर्व गभर्नर रावलको मन्तव्यबाट प्रभावित गभर्नर अधिकारीले आफ्नो मन्तव्यको अन्तिममा 'मेरो सन्दर्भमा, राष्ट्र बैंकको सन्दर्भमा विशेष वक्तव्य वाचनका लागि डा. तिलकबहादुर रावललाई राष्ट्र बैंक साथै आफ्नो व्यक्तिगत तर्फबाट हार्दिक आभार व्यक्त गर्छु' भनेका थिए। राष्ट्र बैंकको उक्त समारोहमा गभर्नर अधिकारी र पूर्व गभर्नर अधिकारी रावलको भाषण र एक अर्काको तारिफ उति सुहाउँदो थिएन ।