काठमाण्डौ । इन्डोनेसियाले पाम तेलको निर्यातमा प्रतिबन्ध लगाएको छ। इन्डोनेसिया विश्वकै सबैभन्दा ठूलो पाम तेल निर्यातकर्ता देश हो।

इन्डोनेसिया सरकारले अप्रिल २८ देखि पाम तेलको निर्यातमा प्रतिबन्ध लगाउने निर्णय गरेको हो। विश्वमा सबैभन्दा धेरै प्रयोग हुने वनस्पति तेलको निर्यातमा इन्डोनेसियाले प्रतिबन्ध लगाएपछि विश्वव्यापी खाद्य मूल्यवृद्धिमा थप बल पुग्ने भय प्रकट गरिएको छ। 

केकदेखि कस्मेटिकसम्मका उत्पादनहरुमा व्यापक प्रयोग हुने खाना पकाउने तेल र यसको कच्चा पदार्थको ढुवानी रोक लगाउनुले विश्वव्यापी रुपमा प्याकेज गरिएका खाद्य उत्पादनहरुको लागत बढाउन सक्नेछ। यसका साथै यो निर्णयले विश्वका सरकारहरुलाई वनस्पति तेल वा इन्धन रोज्न बाध्य पार्नेछ। 

एक भिडियो प्रसारणमा इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोले रुस–युक्रेन युद्धका कारण विश्वव्यापी रुपमा खाद्यान्नको मूल्य रेकर्डस्तरमा पुगेकाले इन्डोनेसियाली जनताहरुलाई खाद्यान्नको उपलब्धता सुनिश्चित गर्न चाहेको बताएका छन्। ‘म यस नीतिको कार्यान्वयनको अनुगमन र मूल्यांकन गर्नेछु ता कि घरेलु बजारमा खाना पकाउने तेलको उपलब्धता पर्याप्त र किफायती होस्’, उनले भने।

इन्डोनेसियाको यो घोषणाले शीर्ष खरिदकर्ता भारत र विश्वभरका उपभोक्ता प्रभावित हुनेछन्। पाम तेलको निर्यातमा प्रतिबन्ध लागेपछि यसको विकल्पमा प्रयोग हुने सोयाबिनको तेलको मूल्यवृद्धि भएको छ।

इन्डोनेसियाको यो कदमले नेपालसमेत प्रभावित बन्ने देखिन्छ। नेपालले इन्डोनेसियाबाट ठूलो परिणाममा तेल आयात गरी प्रशोधनपश्चात भारत निर्यात गर्ने गर्छ।

नेपालले बितेको ९ महिनाको अवधिमा ३२ अर्ब ५३ करोड रुपैयाँबराबरको २४ करोड १३ लाख ४१ हजार लिटर कच्चा पाम तेल आयात गरेको छ। यसमध्ये इन्डोनेसियाबाट २६ अर्ब ११ करोड रुपैयाँबराबरको १९ करोड ९४ हजार लिटर आयात गरेको छ।