काठमाण्डौ । सेन्ट्रल अफ्रिकन रिपब्लिक बिटक्वाइनलाई कानुनी रुपमा मुद्राको मान्यता दिने विश्वको दोस्रो देश बनेको छ।
सेन्ट्रल अफ्रिकन रिपब्लिकका सांसदहरुले बिटक्वाइनलाई कानुनीमा रुपमा मुद्राको मान्यता दिने प्रस्ताव सर्वसम्मतले पारित गरेका छन्।
सेन्ट्रल अफ्रिकन रिपब्लिक विश्वको गरिब देशमध्ये एक हो। तर, यो देशमा हीरा, सुन र युरेनियमको ठूलो खानी छ। रुसको घनिष्ट सहयोगी यो देश वर्षौंदेखि द्वन्द्वले ग्रस्त छ र वाग्नर समूहले विद्रोहीहरु सँग लड्न सहयोग गरिरहेको छ।
बिटक्वाइनलाई कानुनी मान्यता दिएपछि त्यहाँको संसदले यो कदमले सेन्ट्रल अफ्रिकन रिपब्लिकलाई विश्वको साहसी र दूरदर्शी देशका रुपमा उभ्याएको जनाएको छ।
सन् २०२१ मा बिटक्वाइनलाई कानुनी मुद्राको मान्यता दिने एल साल्भाडोर विश्वको पहिलो देश बनेको थियो। एल साल्भाडोरको उक्त कदमले वित्तीय अस्थिरताको जोखिम बढाएको भन्दै थुप्रै अर्थशास्त्री तथा अन्तर्राष्ट्रिय मुद्रा कोषले आलोचना गरेका थिए।
यस्तै अन्यले यसले अपराधीहरुलाई कालो धनलाई कानुनी बनाउन सहयोग गर्ने र बिटक्वाइनको प्रयोगका लागि अत्यधिक विद्युत खपत हुने भएकाले यसले वातावतरणमा समेत प्रभाव पार्ने भय प्रकट गरेका थिए।
बिटक्वाइनको प्रयोगका लागि इन्टरनेटको आवश्यकता पर्ने गर्छ। तर, सन् २०१९ का आँकडाअनुसार सेन्ट्रल अफ्रिकन रिपब्लिकका करिब ४ प्रतिशत जनतामा मात्रै इन्टरनेटको पहुँच पुगेको छ।
सेन्ट्रल अफ्रिकन रिपब्लिकले अन्य पूर्वफ्रान्सेली उपनिवेश देशहरुले जस्तै हाल फ्रान्सद्वारा समर्थित ‘सीएफए फ्रैंक’ लाई आफ्नो मुद्राका रुपमा प्रयोग गरिरहेको छ।
प्राकृतिक स्रोतसाधनमा धनी सेन्ट्रल अफ्रिकन रिपब्लिकमा प्रभाव जमाउन रुस र फ्रान्सबीच प्रतिस्पर्धा चलिरहेको छ। ‘सीएफए फ्रैंक’लाई कमजोर पार्न बिटक्वाइनलाई कानुनी मान्यता दिइएको जनाइएको छ। –एजेन्सी
11 minutes ago
34 minutes ago
43 minutes ago
59 minutes ago
1 hour ago
1 hour ago
11 hours ago
11 hours ago
11 hours ago
11 hours ago