काठमाण्डौ । नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालनको अनुमतिप्राप्त स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) तथा नेपाल राष्ट्र बैंकबाट भुक्तानी सेवा प्रदायकको अनुमति प्राप्त सेलकम प्रालि (सेलपे)बीच स्मार्ट क्यूआरमार्फत भुक्तानी सेवा सञ्चालनका लागी सम्झौता भएको छ।

हालै स्मार्टच्वाइस टेक्नोलोजिजको गैरीधारास्थित केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रमका बीच स्माटच्वाइस टेक्नोलोजिजका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायणप्रकाश भुजु र सेलपेका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सार्थक छेत्रीले सो सेवा सञ्चालनसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्। 

सम्झौताअनुसार सेलपे प्रयोगकर्ताले सेलपेमार्फत स्मार्ट क्यूआर मर्चेन्टहरुमा भुक्तानी गर्न सक्छन् भने सेलपेमार्फत विभिन्न व्यापार–व्यवसायमा संलग्न व्यवसायीले स्मार्ट क्यूआरमार्फत भुक्तानी लिनलाई स्मार्ट क्यूआरको सुविधा लिन सक्नेछन्। ईएमभी स्ट्यान्डर्डमा जारी गरी फाइनेन्सियल स्विचमार्फत कारोबारको भुक्तानी तथा फर्छ्योट गर्ने भएकाले स्मार्ट क्यूआरमार्फत भुक्तानी लिन तथा दिन सहज, सुरक्षित र भरपर्दो रहन्छ।

विगत २० वर्षदेखि कार्डलगायत भुक्तानीका विभिन्न सेवा दिँदै आइरहेको स्मार्टच्वाइस टेक्नोलोजिज र नेपाली वालेट प्रयोगकर्तामाझ लोकप्रिय सेलपेबीच भएको यो सहकार्यले भुक्तानी क्षेत्रको समग्र विकासमा थप योगदान पुग्न जाने आशा लिइएको छ।

सन् २००१ मा स्थापित एससीटी र एसीटी नेटवर्कका रुपमा चिनिन्ने स्मार्ट च्वाइस टोक्नोलोजी नेपाल राष्ट्रिय बैंकअन्तर्गत लाइसेन्स प्राप्त भुक्तानी सेवा अपरेटर (पीएसओ) हो। एससीटीले नेपालका अधिकांश वाणिज्य बैंक, विकास बैंक, पीएसपी (पेमेन्ट सर्भिस प्रोभाइडर) र अन्य वित्तीय संस्थालाई विभिन्न कार्ड र भुक्तानी प्लेटफर्म उपलब्ध गराउँछ। 

एससीटीले आफ्ना सेवा र पहुँच विस्तार गर्न अन्तर्राष्ट्रिय भुक्तानी प्रोसेसर र योजना (युनियन पे इन्टरनेस्नल, पल्स नेटवर्क र एफएसएस आदि) सँग रणनीतिक गठबन्धनमा पनि प्रवेश गरेको छ।