काठमाण्डौ । कोरोना महामारी सुरु भएयता हरेक दिन विश्वमा एक नयाँ अर्बपति थपिएको तथ्यांक सार्वजनिक भएको छ। 

अक्सफार्मले सार्वजनिक गरेको प्रतिवेदनले यस्तो देखाएको हो। स्विट्जरल्यान्डको ड्याभोसमा हरेक वर्ष हुने वर्ल्ड इकोनोमिक फोरमको बैठकअघि अक्सफार्मको प्रतिवेदन सार्वजनिक गरिएको थियो। 

प्रतिवेदनअनुसार सन् २०२० यता विश्वमा ५७३ नयाँ अर्बपति थपिएछन्। यो हिसाबले प्रत्येक ३० घन्टामा नयाँ एकजना अर्बपति थपिएका छन्। 

हाल विश्वमा अर्बपतिको संख्या २६६८ पुगेको प्रतिवेदनमा उल्लेख छ। कोरोना महामारीको समयमा अर्बपतिहरुको सम्पत्ति ३८ खर्ब डलरले बढेर १२७ खर्ब डलर पुग्यो। यसरी अर्बपतिहरुको सम्पत्ति बढ्नुमा कोरोनाकालमा विश्व सेयर बजारमा आएको उछाल नै मुख्य कारण मानिएको छ। 

ड्याभोस विश्वका सबैभन्दा धनाढ्य र प्रमुख देशका नेताहरू सहभागी हुने गर्छन्। कोरोना महामारीका कारण दुई वर्षपछि यो बैठक बस्न लागेको हो।

प्रतिवेदनअनुसार कोरोना महामारीको पछिल्लो २ वर्षको अवधिमा धनी र गरिबबीचको खाडल झनै बढेको छ। धनीहरुको सम्पत्ति बढ्दै गर्दा गरिबहरु सामान्य जीविकोपार्जन गर्न नसक्ने अवस्थामा पुगेको प्रतिवेदनमा उल्लेख छ। 

विश्वभर अहिले ऊर्जा र खाद्यान्न भाउ आकासिएको छ। ‘यिनै क्षेत्रका व्यवसायीहरुले भने बढ्दो मूल्यबाट नाफा कमाइरहेका छन्’, प्रतिवेदनमा भनिएको छ। 

असमानताको यो हदसम्मको वृद्धिलाई सम्बोधन गर्न र जीविकोपार्जनका लागि संघर्ष गरिरहेकाहरुलाई सहयोग गर्न सरकारहरुले धनाढ्यहरु र व्यवसायीहरुलाई कर लगाउनुपर्ने प्रतिवेदनमा सुझाव दिइएको छ। –एजेन्सी