काठमाण्डौ। इन्ग्रेल्यस(वेद एप) का सहसंस्थापक सुजित पाठक फोर्ब्स म्यागेजिनको ३० वर्षमुनिको प्रभावशाली उद्यमीको सूचीमा परेका छन्। 

पाठक फोर्ब्स म्यागेजिनको ‘३० अन्डर ३० एसिया २०२२’मा एसियाको उपभोक्ता प्रविधिको प्रभावशाली उद्यमीको सूचीमा परेका हुन्। फोर्ब्सले ४ हजारभन्दा बढी मनोनितमध्ये ९० जना उद्यमीलाई कोरोना महामारीका बेला र त्यपश्चात पारेको प्रभावका आधारमा विभिन्न विधामा छनोट गरेको थियो। यसको छनोट व्यँवसायिक नेतृत्वको प्रभाव र सम्भावनाका आधारमा फोर्ब्सका रिपार्टहरु र निर्णायकहरुले गरेका थिए। 

सन् २०१६ देखि प्रविधिका माध्यमबाट शिक्षालाई रुपान्तरण गर्ने आफ्नो वाचा पूरा गर्दै आएको वेद एपका कारण हाल ८०० भन्दा बढी विद्यालयहरुमा बिना अवरोध सञ्चालन भइरहेका छन्।

प्रशासक, शिक्षक र विद्यार्थीले शिक्षाको प्राथमिकतालाई सुनिश्चित गर्न यो प्लेटफर्मको सक्रिय रुपमा प्रयोग गरिरहेका छन्। वेदले ई–एडुकेसन क्याटेगोरीमा ‘डब्ल्यूआईटीएसए आईसीटी एक्सिलेन्स अवार्ड २०२१, नेसनल आईसीटी अवार्ड २०२२, माइक्रोसफ्टको हाइवे टु १०० युनिकन्र्स र इम्प्याक्ट कलेक्टिभजस्ता प्रतिष्ठित पुरस्कारहरु प्राप्त गरिसकेको छ। 

फोर्ब्सको प्रभावशाली उद्यमीको सूचीमा परेपछि सुजित पाठकले यसका लागि फोर्ब्सप्रति कृतज्ञता ज्ञापन गरेका छन् र वेद परिवार कुनै पनि बालबालिकाले शारीरिक रुपमा विद्यालयमा जान नसक्ने अवस्थामा गुणस्तरीय शिक्षाबाट वञ्चित नहोस भन्ने कुरामा थप कटिबद्ध रहेको बताएका छन्। 

इन्ग्रेल्यसद्वारा सञ्चालित वेद एउटा पूर्ण विद्यालय÷कलेज व्यवस्थापन प्रणाली हो। जसले शैक्षिक संस्थालाई डिजिटाइन गर्न सहयोग गर्ने गर्दछ। यसका कारण शैक्षिक संस्थाहरुले अन्य यावत कुरामा कम ध्यान केन्द्रित गरी आफ्नो सम्पूर्ण ध्यान र प्रयास शिक्षालाई निष्पक्ष, दिगो, समतामूलक र प्रभावकारी बनाउन प्रयोग गर्न सक्छन्।  

यो सूचीमा नेपालबाट सुजितसहित ५ युवा परेका छन्। जसमा सामाजिक प्रभाव अन्तर्गत पुतली नेपालकी प्रबन्ध निर्देशक ऐश्वर्या रानी सिंह, स्वास्थ्य सेवा र विज्ञानअन्तर्गत नासा गोडार्ड स्पेस फ्लाइट सेन्टरका पोस्ट डक्टरल फेलो सुमित दाहाल र रिटेल र इकमर्स अन्तर्गत अफरिङ ह्याप्पिनेसका सहसंस्थापक निरज काफ्ले र सन्तोष पाण्डे रहेका छन्।