– अर्जुन तिमिल्सिना

काठमाण्डौ । मर्जर प्रयोजनका लागि लामो समयदेखि रोक्का रहेको नेपाल इन्भेस्टमेन्ट बैंकको सेयर कारोबार सोमबारबाट खुलेको छ। सेयर कारोबार खुलेसँगै सोमबार र मंगलबार दुवै दिन इन्भेस्टमेन्ट बैंकको सेयरभाउमा १० प्रतिशतको हाराहारीमा गिरावट आएर नेगेटिभ सर्किट लागेको छ। 

मर्जर प्रयोजनका लागि कारोबार रोक्का हुँदा इन्भेस्टमेन्ट बैंकको सेयरभाउ प्रतिकित्ता ४०४ रुपैयाँ रहेको थियो। यो दुई दिनको कारोबारमा इन्भेस्टमेन्ट बैंकको सेयरभाउ ७३ रुपैयाँले घटेर प्रतिकित्ता ३३१ रुपैयाँमा झरेको छ। 

हिमालय बैकसँग मर्जर प्रक्रिया भाँडिएको इन्भेस्टमेन्ट बैंकको हाल मेगा बैंकसँग मर्जरको चर्चा चलिरहेको छ। मेगा बैंकसँग मर्जर छलफलमा रहेको इन्भेस्टमेन्ट बैंकको मूल्य सुनियोजित घटाउन खोजिएको केही बजार जानकारहरु बताउँछन्। ‘इन्भेस्टमेन्ट बैंकको सेयरमूल्य घटाएर मेगा बैंकसँगको मर्जर छलफलमा सेयर स्वाप रेसियो मिलाउने दाउसमेत हुनसक्छ’, एक बजार जानकारले भने। 

इन्भेस्टमेन्ट बैंकसँग मेगा बैंकले गरेको मर्जरको प्रारम्भिक छलफलमा ९० को हाराहारीमा स्वाप दिन इन्भेस्टमेन्ट तयार देखिएको छ। तर, मेगाले समान हैसियत मागिरहेको स्रोत बताउँछ।

इन्भेस्टमेन्ट बैंक आफँैमा एउटा पुरानो बैंक हो। काठमाण्डौको लाजिम्पाट र दरबारमार्गमा गरेर ५ रोपनीभन्दा बढी आफ्नै जग्गा रहेकोले पनि यो बैंकको नेटवर्थ उच्च रहेको बजार जानकारहरु बताउँछन्। 

आज मार्केट डेप्थमा इन्भेस्टमेन्ट बैंकको २ लाख ५८ हजारभन्दा बढी कित्ता सेयर बिक्रीका लागि राखिएको देखिन्छ। खरिदतर्फ शून्य नै देखिन्छ।  

चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरणअनुसार बैंकको सेयरपुँजी १८ अर्ब रुपैयाँ रहेको छ भने रिजर्भमा १४ अर्ब रुपैयाँ रहेको छ। यो भनेको पुँजीको ७७ प्रतिशत रिजर्भमा देखिन्छ। 

बैंकको नेटवर्थ १८८.६० रुपैयाँ रहेको छ। यो भनेको प्राइस टु बुक भ्यालु १.७५ गुणा हुन आउँछ। यसले बैंकको सेयरभाउ निकै सस्तो रहेको भन्ने बुझिन्छ। 

बफेट थेउरीअनुसार यस्तो रेसियो २ भन्दा तल भएमा कम्पनीको सेयर खरिदका लागि अति उपयुक्त मनिन्छ। 

बजार जानकार टेकेन्द्र थपलियाले अब इन्भेस्टमेन्ट बैंकको सेयर धेरै नघट्ने दाबी गर्छन्। ‘अब धेरै घटेमा एक दिन घट्ला’, उनले भने, ‘तीन दिनभन्दा बढी यो बैंकको सेयरभाउमा नेगेटिभ सर्किट लाग्दैन।’

बजार जानकार मुक्ति अर्यालले पनि इन्भेस्टमेन्ट बैंकको सेयरभाउ अब धेरै नघट्ने बताउँछन्। ‘दुई दिनमा झन्डै २० प्रतिशतले घटिसकेको छ, अब केही प्रतिशत घटेर इन्भेस्टमेन्ट बैंकको सेयरमा खरिदचाप पर्न सक्छ’, उनले भने। 

नेपाल इन्भेस्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकालले पनि अब इन्भेस्टमेन्ट बैंकको सेयर धेरै तल नजाने दाबी गरेका छन्।