– अर्जुन तिमिल्सिना

काठमाण्डौ । सम्पूर्ण नागरिकलाई लगानी कोषमा समावेश गर्ने उद्देश्यले २०४७ साल चैत ४ मा स्थापित भएको कम्पनी हो, नागरिक लगानी कोष (सीआईटी)। यो कम्पनीले औपचारिक रुपमा काम भने १ माघ २०४८ बाट सुुरु गरेको थियो। यो कम्पनीमा आमसर्वसाधारणले स्वेच्छाले पैसा जम्मा गरेर पेन्सनको सुविधा लिन सक्छन्। 

आधारभूत पक्ष

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म यो कम्पनीको सेयरपुँजी ३ अर्ब २७ करोड रुपैयाँ र सेयर प्रिमियममा १ अर्ब २६ करोड रुपैयाँ रहेको छ। यो अवधिसम्म कम्पनीले ६१ करोड ६६ लाख ८८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। प्रतिसेयर नेटवर्थ गत आर्थिक वर्षको यही अवधिको तुलनामा ३० रुपैयाँले बढेर १८६ रुपैयाँ पुगेको छ। ईपीएस २७ रुपैयाँ रहेको कम्पनीको आरओआई पनि बढेर ८.१८ प्रतिशत पुगेको छ। यो हिसाबले कम्पनीको प्रतिफल पनि बढेको देखिन्छ। कम्पनीको १० वर्षको वार्षिक औसत लाभांश दर ३० प्रतिशत रहेको छ। 

प्राविधिक पक्ष

इलिअट वेभका आधारमा 

कम्पनीको मूल्य चार्टलाई इलिअट वेभमार्फत करिब २ वर्षपहिलेबाट नियाल्दा १७ नोभेम्बर २०१९ मा करिब ७५० रुपैयाँ रहेको पाइन्छ। त्यसपछिको १६ महिनामा निरन्तर वृद्धिसँगै यो कम्पनीको सेयरभाउ ४ हजार ६०० रुपैयाँसम्म पुगेको देखिन्छ। 

गत ७ फेब्रुअरी २०२१ बाट पुनः गिरावट आएको यो कम्पनीको सेयरभाउ त्यसपछिको १५ महिनामा निरन्तर गिरावटसँगै फिवानासीको ५५ प्रतिशतको गिरावटले हाल २ हजार ४६० रुपैयाँमा बन्द भएको पाइन्छ। 

इलिअट वेभअन्तर्गत यो कम्पनीको सेयरभाउमा हाल वेभ सी चल्दै गरेको देखिन्छ। वेभ सीको करेक्सन फिवोनासीको ०.६१ प्रतिशतसम्म करेक्सन हुन आउँछ भने त्यस्तो करेक्सनमा यो कम्पनीको सेयरभाउ लगभग २ हजार २२२ रुपैयाँसम्म पनि आउन सक्ने देखिन्छ। (माथि मुख्य तस्बिरमा हेर्नुहोस्) 

फिवोनासी सिद्धान्तका आधारमा 

फिवोनासी एक्सटेन्सन एउटा यस्तो टुल हो, जसले एकपटक बढेपछि बजार घट्दा कतिसम्म तल आउन सक्छ र कति–कतिमा टेवा लिन्छ भन्ने विषय अनुपातका आधारमा संकेत गरेको हुन्छ। बढ्दा पनि कति–कति प्रतिशतमा प्रतिरोध गरेको हुन्छ भन्ने यी अनुपातबाट अनुमान लगाउन सकिन्छ। यस्ता अनुपातलाई फिवोनासी गोल्डेन अनुपातहरु पनि भनिन्छ। ती अनुपातहरु २३.६, ३८.२, ५०, ६१.८ र १०० प्रतिशत हुन्। 

यदि यो कम्पनीको भाउ घटेमा ०.२३ प्रतिशतको टेवामा ३ हजार ६८४ रुपैयाँसम्म, ०.३८ प्रतिशतको टेवामा ३ हजार १३८ रुपैयाँसम्म, ०.५ प्रतिशतको टेवामा २ हजार ६७१ रुपैयाँसम्म र ०.६१ प्रतिशतको टेवामा २ हजार २२२ रुपैयाँसम्म हुन सक्ने देखिन्छ।

एमएसीडी लाइनका आधारमा

सेयर प्राविधिक विश्लेषणमा प्रयोग हुने यो औजार गेराल्ड अपीले प्रतिपादन गरेका हुन्। एमएसीडी लाइन भनेको सेयर अर्थात बजार परिसूचकको अन्तिम मूल्यको २६ दिन र १२ दिनको एक्सपोनियल मुभिङ एभरेज हो। यसमा एमएसीडी लाइन र सिग्नल लाइन गरी दुई लाइन हुन्छन्। यदि एमएसीडी लाइनले सिग्नल लाइनलाई तलबाट काट्छ भने बुलिस क्रसओभर र माथिबाट काट्छ भने बियरिस क्रसओभर हुन्छ। 

यो लाइनलाई आधार मान्ने हो भने गत ३०  मेमा एमएसीडी लाइनले सिग्नल लाइनलाई माथिबाट काटेको र बियरिस सिग्नल बनेको देखिन्छ (हेर्नुहोस् रातो एरो)। जसले बियरिस सिग्नल बनेको छ र हिस्टोग्राम नेगेटिभ भएका छन् (हेर्नुहोस् कालो एरो)। यसले केही समय सेयरमूल्य घट्न सक्ने देखिन्छ।

बोलिंगर ब्यान्डका आधारमा 

यो सिद्धान्त सन् १९८० को दशकमा जोन बोलिंगरले प्रतिपदान गरेका हुन्। यो औजार सेयर, डेरिभेटिभ तथा विदेशी मुद्राको मूल्यमा हुने उतारचढावको विश्लेषणलाई मध्यनजर गरी तयार पारिएको हो। यसमा ३ वटा ट्रेन्ड लाइन हुन्छन्। पहिलो (बीचको) सामान्य चलायमान औसत रेखा, दोस्रो अप्पर ब्यान्ड र तेस्रो लोअर ब्यान्ड। यो ब्यान्डको सामान्य नियम भनेको मूल्य माथिल्लो र तल्लो ब्यान्डमा सीमित हुन्छ भन्ने हो। अर्थात् अझ सरल भाषामा भन्नुपर्दा जब मूल्य रेखाले माथिल्लो रेखालाई छुन्छ तब बजारमा करेक्सन  हुन्छ र जब तल्लो रेखालाई छुन्छ तब बजार स्वाभाविक रुपमा फेरि माथितिर जान थाल्छ भन्ने हो। 

यो औजारअन्तर्गत यो कम्पनीको मूल्यरेखाले तल्लो  ब्यान्डलाई छोएको छ र रातो मारुबुजु क्यान्डल बनेको छ। यसले सेयरमा बिक्रीचाप आएको बुझिन्छ। अन्तिम कारोबारमा रातो लामो मारुबुजु बनाएकोले केही समय बिक्रीचाप पर्न सक्ने सम्भवना देखिन्छ।

आरएसआईका आधारमा 

आरएसआई विन्दुअन्तर्गत १४ दिनको मूल्यलाई आधार मानेर भविष्यमा हुने मूल्य परिर्वतनको भविष्यवाणी गरिन्छ। यसमा ५० को जोनलाई सेन्ट्रल जोन, ३० भन्दा तल ओभर सोल्ड जोन र ७० भन्दा माथिलाई ओभर बट जोन भनेर छुट्याइन्छ। 

यो कम्पनीको हालको आरएसआई १९ को तहमा रहेको छ।  अघिल्लोपटक यो न्यून विन्दु १४ को तहमा पुगेपछि सेयरभाउ उकालो लागेको थियो भने उच्चतम विन्दु ६८ को तहमा पुगेपछि सेयरभाउ ओरालो लागेको थियो। यसलाई आधार मान्दा यो कम्पनीको सेयरमूल्यमा बियरिस सिग्नल देखिन्छ। यदि आगामी दिनमा हाल १९ को तहमा रहेको  आरएसआईको विन्दु फर्केर ३० को तहभन्दा माथि जान्छ भने खरिद सिग्नल मिलेको मानिन्छ।

पिभट विश्लेषणका आधारमा 

पिभट विश्लेषण भनेको सेयर तथा डेरिभेटिभको अधिकतम, न्यूनतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उतारचढाव निकालिन्छ।

बढेमा प्रतिरोध 

  • प्रतिरोध १– २७८७
  • प्रतिरोध २– ३०११
  • प्रतिरोध ३– ३१४२

पिभट प्वइन्ट : २६५६

घटेमा सपोर्ट 

  • सपोर्ट १– २४३२
  • सपोर्ट २– २३०१
  • सपोर्ट ३– २०७७

निष्कर्ष

फिवानासीअन्तर्गत हेर्दा सीआईटीको सेयरभाउ लगभग ५५ प्रतिशतले घटेको छ। यस्तो तह ०.६१ प्रतिशतसम्म पनि हुन आउँछ। यो भनेको २ हजार २२२ रुपैयाँमा आउन सक्छ। यो कम्पनीलाई रिस्क/रिवार्ड रेसियोमा हेर्दा हालको मूल्य २ हजार ४६० रुपैयाँबाट ९ प्रतिशतसम्म गिरावट आउन पनि सक्ने देखिन्छ। अर्थात ९ प्रतिशत रिस्क देखिन्छ। यदि यो कम्पनीको सेयरमूल्य बढेमा ३ हजार १४२ रुपैयाँसम्म पुगन सक्छ। अर्थात २१ प्रतिशतसम्मको रिवार्ड देखिन्छ। यस हिसाबले हाल यो कम्पनीको सेयरमूल्यलाई रिस्क/रिवार्ड रेसियोमा हेर्दा जम्मा ९ प्रतिशत रिस्क र २१ प्रतिशतको रिवार्ड देखिन्छ। 

आरएसआईअअन्तर्गत हेर्दा हाल १९ को तहमा रहेको यस्तो विन्दु फर्केर ३० को तहसम्म पुगेमा खरिदको कन्फर्मेसन मिल्न सक्ने देखिन्छ। बोलिंगर ब्यान्ड र म्याक्डीले भने कम्पनीको सेयरमूल्यमा अझै केही करेक्सनको सम्भावना देखाएका छन्। 

नोट : सेयर बजारमा प्राविधिक विश्लेषण एक औजारमा आधारित अनुमानित विश्लेषण हो। यसको अर्थ सेयर बजारमा हामीले यही नै हुन्छ भनेर ठोकुवा गरेका होइनौँ। लगानीकर्ताले लगानी गर्दा आफ्नो जोखिम लिन सक्ने क्षमता र कम्पनीको वित्तीय अवस्था हेरेर लगानी गर्नुपर्छ। यो कुनै कारोबारका लागि सिफारिस भने होइन।