काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)का अध्यक्ष रमेशकुमार हमालले लगानीकर्ताहरुले उठाएका मागहरु कार्यान्वयन गर्न आफूहरु लागिपरेको बताए।

सेबोनमा आज आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष हमालले बजार सुधार र विकासका लागि लगानीकर्ताहरुले उठाएका माग कार्यान्वयन गर्न आफूहरु लागिपरेको बताएका हुन्। ‘कार्यान्वयन अवधि ३ महिना हुन, ६ महिना हुन सक्ला तर हामी कार्यान्वयन गर्छौं’, उनले भने। 

उनले मौद्रिक नीतिमा ल्याइएको ४–१२ र १५० प्रतिशत जोखिम भार अनुपातले बजार प्रभावित भएको विषयमा आफूहरु गम्भीर रहेको बताए। ‘हाम्रा विज्ञहरु टोलीले पनि यी नीतिले बजार प्रभावित हुन पुगेको निष्कर्ष निकालेको छ। यसबारे हामीले राष्ट्र बैंकसँग छलफल पनि गरेका छौँ’, उनले भने, ‘यी नीतिमा परिमार्जन गर्न सुझाव पनि दिएका छौँ।’

बजारमा देखिएका समस्या समाधानका लागि अर्थ मन्त्रालयको समन्वयमा सुझाव समिति गठन प्रक्रिया अगाडि बढिरहेको पनि अध्यक्षमा हमालले बताए। ‘छिटै समितिले पूर्णता पाउँछ’, उनले भने, ‘त्यही समिति बजारमा सुधारका लागि आवश्यक सुझाव सरोकारवालासँग लिनेछ र कार्यान्वयन गर्नेछ।’

तरलता संकटले बजार प्रभावित भएको हमालको भनाइ छ। ‘यसका लागि हामीले पुँजीबजारमा गैरआवासी नेपाली भित्र्याउनेलगायतका नीति लिन लागेका छौँ, आउँदो आर्थिक वर्षबाट नीतिगत व्यवस्था गरी गैरआवासी नेपालीलाई पनि पुँजीबजारमा भित्र्याउँछौँ’, उनले भने। 

नियामक निकायहरुको नीति व्यवस्थाले बजार प्रभावित हुने गरेको उल्लेख गर्दै हमालले कुनै पनि नियामकले नयाँ नीति ल्याउँदा सबै निकायबीच आवश्यक समन्वय गर्न आग्रह गरिएको बताए। ‘यसमा धितोपत्र बोर्ड, राष्ट्र बैंक, बीमा समितिलगायतका निकाय सबै सहमत छन्’, उनले भने। 

लगानीकर्ताहरुले उठाएको अधिकांश माग कार्यान्वयन धितोपत्र बोर्ड लागिपरेकोले आन्दोलनमा उत्रिएका लगानीकर्ताहरुले साथ दिनेमा हमाल विश्वास व्यक्त गरे। ‘लगानीकर्ताहरु सबै माग लगभग कार्यान्वयनको चरणमा छन्, आजको भोलि नै कार्यान्वयन हुँदैन, समय लाग्छ’, उनले भने, ‘त्यही भएर अनशन तोडेर धितोपत्र बोर्डले गरिरहेको काममा सहयोग गर्नुहुन म आग्रह गर्छु।’