काठमाण्डौ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले सेयर बजारमा आएको अनपेक्षित गिरावटको मुख्य कारक राष्ट्रबैंकको नीति नै रहेको आरोप लगाएका छन् । 

लगानीकर्ताहरुले आफ्ना माग सम्बोधन होला भनेर अपेक्षा गरिरहेकै बेला आज साँझ बोर्ड परिसरमा पत्रकार सम्मेलन गरी उनले अर्थमन्त्री जनार्दन शर्माको बोलीमा लोली मिलाउँदै बजार गिरावटमा मुख्य दोष राष्ट्रबैंककै गलत नीति रहेको समेत दाबी गरे । 

केही दिनअघि अर्थमन्त्री जनार्दन शर्माले समेत अहिले सेयर बजारमा आइरहेको तीव्र गिरावटको मुख्य दोषी राष्ट्रबैंक रहेको दाबी गरेका थिए । सोही दाबीलाई बल पुग्ने गरी सेबोन अध्यक्ष हमालले पनि आफूलाई चोख्याउँदै दोष जति अरुको टाउकोमा थोपरेका हुन् । 

‘अहिले बजारमा जुन किसिमले गिरावट आएको छ, त्यसको एउटा कारण अर्थतन्त्रको बाह्य क्षेत्र हो । हाम्रोमा मात्र होइन, अमेरिकादेखि भारतसम्मका सेयर बजारमा निकै ठूलो गिरावट आइसकेको छ ।’ हमालले भने–‘हाम्रो बजार गिरावट पछाडिको प्रमुख कारण राष्ट्रबैंकले ल्याएको सेयर धितो कर्जा सम्बन्धी दुईवटा मुख्य व्यवस्था हुन् ।’ 

उनले राष्ट्रबैंकले सेयर धितो कर्जामा लगाएको ४–१२ करोडको क्यापमा पुनर्विचार गर्नुपर्ने र सेयर धितो कर्जाको भारित औसत १५० प्रतिशत पुर्याइएकोमा त्यसमा समेत संसोधन हुनुपर्नेमा जोड दिए । उनले ४–१२ करोडको क्यापको समयसीमा लम्ब्याउने विषयमा राष्ट्रबैंक र अर्थमन्त्रालयका अधिकारीहरुसँग आफ्नो निरन्तर कुराकानी भइरहेको समेत दाबी गरे ।  

‘लगानीकर्ताहरुले राख्नुभएका १९ बुँदामध्ये अधिकांश माग हामीले कार्यान्वयनको चरणमा पुर्याइसकेका छौं । केही माग केही पछि कार्यान्वयन हुनेछन् ।’ हमालले भने –‘तर एकदुईवटा माग पूरा नै नहुने खालका छन्, त्यसमा लगानीकर्ताहरुले पनि बुझ्नुभएको छ ।’ 

उनले अधिकांश माग कार्यान्वयनको चरणमा रहँदा रहँदै लगानीकर्ताले ज्यानको बाजी राखेर अनसन गर्नु औचित्यहीन भएको दाबी समेत गरे । ‘लगानीकर्ताहरुले उठाउनुभएका अधिकांश मागमै हामी काम गरिरहेका छौं भने तिनै माग राखेर फेरि अनसन बस्नुको औचित्य छैन ।’ उनले थपे–‘त्यसकारण लगानीकर्ताहरुले आफ्ना आन्दोलनका सबै कार्यक्रम फिर्ता लिनुपर्छ र हामीलाई सहयोग गर्नुपर्छ ।’