काठमाण्डौ । घातक परजीवी भेटिएपछि अस्ट्रेलियामा लाखौँ मौरीलाई ‘लकडाउन’मा राखिएको छ। सरकारले हजारौँ मौरीलाई नष्ट गर्ने निर्णय पनि गरेको छ।
सिड्नीनजिकको बन्दरगाहमा गत साता फेला परेको भारोआ डिस्ट्रक्टर नामक किर्ना त्यसयता १०० किलोमिटर टाढाको घारमा पनि देखिएको छ। उक्त परजीवीका कारण त्यहाँको मह र खाद्य उद्योगलाई दसौँ लाख डलर घाटा हुने जोखिम बढेको छ।
नयाँ जीव सुरक्षा क्षेत्रका माहुरीपालकहरु अब अर्को सूचना नआएसम्म घार, मौरी वा महको चाका अन्यत्र लान पाउने छैनन्।
विश्वभर मौरीका लागि सबैभन्दा ठूलो जोखिमका रुपमा रहेको भारोआ परजीवी यसअघि अस्ट्रेलियामा देखिएको थिएन। तिलको गेडाजत्रो यो परजीवीले मौरीलाई भाइरस सारेर मौरी समूहलाई कमजोर बनाउने र मार्ने गर्छ।
न्यु साउथ वेल्सका सात ठाउँमा परजीवी भेटिएपछि अस्ट्रेलियाका अधिकारीहरुले यसलाई नियन्त्रण गर्न केही जैविक सुरक्षा उपायहरु लागू गरेका छन्। त्यहाँ परजीवी देखा परेको स्थानको १० किलोमिटर वरपर रहेका ४०० घार नष्ट गरिनेछ भने २५ किलोमिटर परसम्मका घारहरुलाई निगरानी गरिनेछ।
मौरी लकडाउन लागू गरेर मौरीलाई एक प्रान्तबाट अर्को प्रान्तमा सार्न मनाही गरिएको छ। न्यु साउथ वेल्सका कृषक संघका इयान म्याक्कोलका अनुसार यो महामारी रोक्न यी कदमहरु आवश्यक छन्। ‘ती परजीवीहरु फैलिए अस्ट्रेलियाको मह उद्योगलाई मात्रै प्रतिवर्ष ४ करोड ८० लाख अमेरिकी डलरबराबर घाटा लाग्नेछ’, उनले भने।
त्यसबाहेक अस्ट्रेलियाका बदाम, स्याउ र एभोकाडोजस्ता एक तिहाइ खाद्यसामग्री उत्पादन माहुरीले गरिदिने परागसेचनमा आधारित छन्। ‘हाम्रो उत्पादन प्रणाली मौरीमा आश्रित छ’, म्याक्कोलले भने, ‘यो उद्योगको मात्रै होइन, समुदायको प्रमुख चिन्ताको विषय हो।’
यसअघि क्विन्सल्यान्ड र भिक्टोरियामा देखिएका अन्य प्रकारका भारोआ परजीवीको प्रकोपलाई नियन्त्रण गरिएको थियो। त्यसकारण अहिलेको प्रकोप नियन्त्रण गर्न आगामी केही दिन महत्त्वपूर्ण हुने कृषकहरु बताउँछन्। –बीबीसीबाट
10 hours ago
10 hours ago
11 hours ago
11 hours ago
12 hours ago
12 hours ago
13 hours ago
13 hours ago
14 hours ago
15 hours ago