काठमाण्डौ । लुुम्बिनी प्रदेशमा बैंक तथा वित्तीय संस्थाका कुल शाखा संख्या २१६६ पुगेको छ। 

राष्ट्र बैंकले अर्धवार्षिक प्रतिवेदन सार्वजनिक गर्दै उक्त प्रदेशमा क वर्गको ७२४, ख वर्गको २४१, ग वर्गको ४३ र घ वर्गको ११५८ गरी जम्मा २१६६ वटा शाखा सञ्चालनमा रहेको जनाएको हो। 

रुपन्देही जिल्लामा सबैभन्दा बढी ५३० वटा र रुकुमपूर्व जिल्लामा सबैभन्दा कम १५ वटा शाखाहरु सञ्चालनमा रहेका छन्। दाङमा २९६, बाँकेमा २२५९, कपिलवस्तुमा २१९, बर्दियामा २१८, नवलपरासीमा १८३, पाल्पामा १२९, गुल्मीमा ११३, प्युठानमा ७६, अर्घाखाँचीमा ६८ र रोल्पामा ६० वटा शाखाहरु रहेको राष्ट्र बैंकले जनाएको छ। 

समीक्षा अवधिमा क, ख, ग र घ वर्गका २१६६ वटा शाखामा पुरुष ७२६६ र महिला ५१०५ गरी कुल १२३७१ जना कर्मचारी रहेका छन्। जसमध्ये ५१८२ जना क वर्गमा, १७७१ जना ख वर्गमा, २८३ ग वर्गमा र ५१३५ जना घ वर्गमा कार्यरत रहेका छन्। 

मोबाइल बैंकिङ तथा इन्टरनेट बैंकिङ दर्ता संख्या र शाखारहित बैंकिङ सेवा

समीक्षा अवधिमा यस प्रदेशको बैंक तथा वित्तीय संस्थाहरुमा २६ लाख ४६ हजार १७१ मोबाइल बैंकिङ सेवा र लाख ८२ हजार ६६ इन्टरनेट बैंकिङ सेवा दर्ता भएको छ। वाणिज्य बैंकहरुले ५८५ शाखारहित बैंकिङ सेवा उपलब्ध गराएका छन्। कुल मोबाइल बैंकिङ सेवामा सक्रिय ग्राहकको ७५.७४ प्रतिशत हिस्सा रहेको छ भने कुल इन्टरनेट बैंकिङ सेवामा सक्रिय ग्राहकको ७४.४५ प्रतिशत हिस्सा रहेको छ। 

जिल्लाहरुमा कुल मोबाइल बैंकिङ सेवा दर्ता संख्या तुलना गर्दा समीक्षा अवधिमा रुपन्देही जिल्लाको हिस्सा सबैभन्दा धेरै ३३२७ प्रतिशत रहेको छ भने रुकुमपूर्व जिल्लाको हिस्सा सबैभन्दा कम ०.२८ प्रतिशत रहेको छ र इन्टरनेट बैंकिङ सेवा दर्ता संख्याको तुलना गर्दा समीक्षा अवधिमा रुपन्देही जिल्लाको हिस्सा सबैभन्दा धेरै ५२.०२ प्रतिशत रहेको छ। रुकुमपूर्वको हिस्सा सबैभन्दा कम ०.०४ प्रतिशत रहेको छ। 

यसैगरी जिल्लाहरुमा वाणिज्य बैंकहको कुल शाखारहित बैंकिङ सेवा तुलना गर्दा समीक्षा अवधिमा रुपन्देही जिल्लाको हिस्सा सवैभन्दा धेरै ३८.१२ प्रतिशत रहेको छ। रुकुमपूर्व जिल्लाको हिस्सा सबैभन्दा कम ०.३४ प्रतिशत रहेको छ। 

कुल निक्षेप 

समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुले संकलन गरेको कुल निक्षेप गत वर्षको सोही अवधिको तुलनामा न्यून मात्राले ०.४६ प्रतिशत वृद्धि भई ४ खर्ब २ अर्ब ३ करोड ७६ लाख पुगेको छ। २०७८ असार मसान्तको तुलनामा ९ प्रतिशतले वृद्धि भएको छ। जिल्लाहरुको कुल निक्षेपको अवस्था तुलना गर्दा समीक्षा अवधिमा रुपन्देही जिल्लाको हिस्सा सबैभन्दा धेरै ४४.४८ प्रतिशत रहेको छ भने रुकुमपूर्व जिल्लाको हिस्सा सबैभन्दा कम ०.२३ प्रतिशत रहेको छ। 

यसैगरी, कुल निक्षेपमा बाँकेको १२.२७ प्रतिशत, दाङको १०.८१ प्रतिशत, कपिलवस्तुको ६.३२ प्रतिशत, पाल्पाको ५.७३ प्रतिशत, नवलपरासी पश्चिमको ५.५० प्रतिशत, गुल्मीको ५ २९ प्रतिशत, अर्घाखाँचीको ३.१२ प्रतिशत, बर्दियाको ३.२० प्रतिशत, प्यूठानको १.९३ प्रतिशत र रोल्पाको १.१४ प्रतिशत हिस्सा रहेको छ।

कुल कर्जा

समीक्षा अवधिमा यस प्रदेशका बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको कर्जा गत वर्षको सोही अवधिको तुलनामा १४.६२ प्रतिशतले वृद्धि भई ५ खर्ब ३७ अर्व १९ करोड १५ लाख पुगेको छ। जुन २०७८ असारको तुलनामा १२.१६ प्रतिशतले वृद्धि भएको थियो। 

यसैगरी समीक्षा अवधिमा यस प्रदेशका बैंक तथा वित्तीय संस्थाको कर्जा–निक्षेप अनुपात १३३.३५ प्रतिशत रहेको छ। 

जिल्लाहरुको कुल कर्जाको अवस्था तुलना गर्दा समीक्षा अवधिमा रुपन्देही जिल्लाको हिस्सा सबैभन्दा धेरै ५०.१० प्रतिशत रहेको छ भने रुकुमपूर्व जिल्लाको हिस्सा सबैभन्दा कम ०.१३ प्रतिशत रहेको छ। 

समीक्षा अवधिमा कर्जा–निक्षेप अनुपात सबैभन्दा धेरै १८१.७७ प्रतिशत बाँके जिल्लामा रहेको छ भने सबैभन्दा कम २८.४३ प्रतिशत अर्घाखाँची जिल्लामा रहेको छ। समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुमा ऋणीहरुको संख्या गत वर्षको सोही अवधिको तुलनामा ११.०९ प्रतिशतले वृद्धि भई २ लाख ८८ हजार ४९९ पुगेको छ।