काठमाण्डौ । अर्थमन्त्री जनार्दन शर्माले आफूले कुनै गल्ती नगरेको भन्दै राजीनामा नदिने र दिनु नपर्ने दाबी गरेका छन् । 

बिजशालासँग टेलिफोनमा कुरा गर्दै उनले यस्तो दाबी गरेका हुन् । 

सम्भावित राजीनामाको विषयमा गरिएको प्रश्नमा उनले भने–‘मैले किन राजीनामा दिने ? मैले के गरेको छु र राजीनामा दिने ? एमालेले भन्दैमा राजीनामा दिने ? मैले कुनै अपराध गरेको छैन र राजीनामा दिँन्न पनि ।’ 

उनले आफूले अर्थतन्त्रको आमूल सुधारका लागि बजेटमार्फत धेरै राम्रा योजनाहरु ल्याएको दाबी गर्दै त्यसबाट अत्तालिएको एमालेले सुनियोजित षड्यन्त्र गरेको र सत्तारुढ कांग्रेसका कतिपय नेता समेत त्यसकै पछि लागेका आरोप लगाए । ‘मैले अपराध गरेको छैन र राजीनामा दिने कुरा आउदैन ।’ उनले थपे–‘हाम्रो पार्टीमा समेत राजीनामा दिन नपर्नेमा एकमत छ । कसैको दवाबमा दिइन्न ।’ 

उनले आफूलाई प्रधानमन्त्रीले राजीनामा दिनुस् पनि नभनेको, तर कतिपयले हौवा फिजाएका दाबी समेत गरे । ‘मलाई प्रधानमन्त्री जीले पनि एमालेले माग्दैमा राजीनामा दिनुपर्दैन, खुरुखुरु काम गर्नुस् भन्नुभएको छ ।’–दाबी गर्दै उनले भने । 

आगामी आर्थिक वर्षको बजेट बनाउँदा अर्थमन्त्री शर्माले अनधिकृत मानिसहरुलाई अर्थमन्त्रालयमा प्रवेश गराएर करका दरहरु चलाएका र निश्चित समूहको स्वार्थ सिद्ध हुने गरी बजेट बनाएका गम्भीर आरोप लाग्दै आएको छ । एमालेले संघीय संसदमा बजेटको अघिल्लो रातको अर्थमन्त्री फूटेज मगाएर छानबिन गर्न माग गर्दै आएको छ । 

अर्थमन्त्रालयले सो दिनको फूटेज डिलिट भयो भनेर सूचना माग्ने एक सेवाग्राहीलाई जवाफ दिएपछि यो प्रकरण चर्किएको छ । योसँगै प्रमुख सत्तारुढ घटक नेपाली कांग्रेसभित्र अर्थमन्त्रीलाई प्रधानमन्त्रीले बर्खास्त गर्नुपर्ने आवाज उठिरहेको छ । अर्थमन्त्रीको गलत कामको विरुद्धमा एमालेका युवाहरुले सडक आन्दोलन सुरु गरेका छन् । तर, माओवादी अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री देउवा भने अर्थमन्त्री शर्मालाई तत्काल नहटाउने मूडमा रहेका शर्मा निकट स्रोतहरुले दाबी गरेका छन् ।