काठमाण्डौ । अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिनका लागि संसदीय समिति गठन गर्ने दलहरुबीच सहमति भएको छ। 

सभामुख अग्निप्रसाद सापकोटाको पहलमा भएको छलफलमा दलहरुबीच संसदीय समिति गठन गर्न सहमत भएका हुन्। 

समितिको सदस्य संख्या भने टुंगो लागेको छैन। एमालेले सांसद संख्याको अनुपातमा आफ्नो उपस्थिति हुनुपर्ने माग राखेको छ। यसमा अन्य दलहरु सकारात्मक छन्।

अब सुरु हुने संसदमा सभामुख सपाकोटाले संसदीय समिति गठनको घोषणा गर्न सक्ने संसद सचिवालयले जनाएको छ। 

यसअघि छानबिन समिति गठन गर्नुपूर्व अर्थमन्त्री शर्माले संसदमा आफ्नो धारणा राख्न चाहेका थिए। तर, एमालेले पहिलो शर्माले अर्थमन्त्रीबाट राजीनामा दिएपछि मात्र छानबिन समिति गठन हुनुपर्ने अडान राखेको थियो।

अर्थमन्त्री शर्माले आर्थिक वर्ष २०७८/७९ को बजेट निर्माणमा अनधिकृत व्यक्तिलाई संलग्न गराएको भन्दै एमालेले संसदीय छानबिनको माग गर्दै आएको थियो।