काठमाण्डौ । संसदीय छानबिनमा परेका अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिएका छन् । 

चौतर्फी विवाद र दवाबपछि आज संघीय संसदलाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले छानबिनमा सहयोग गर्ने उद्देश्यले पदबाट राजीनामा दिइएको घोषणा गरेका हुन् । 

'ममाथि जुन किसिमका झूठा आरोप र लाञ्छना लगाइएको छ, त्यसको म खारेज गर्छु, अस्वीकार गर्छु ।' संसदलाई सम्बोधन गर्दै उनले भने-'मबाट गल्ती भएको छैन, तर राजनीतिक प्रतिशोधका आधारमा भ्रम सिर्जना गर्ने काम भयो ।' 

उनले विगतमा केही अर्थमन्त्रीहरुमाथि संसदीय छानबिन हुँदा उनीहरु पदमै कायम रहेका उदाहरण पेश गरे पनि आफूले त्यसो नगर्ने भन्दै राजीनामा घोषणा गरेका हुन् । 

'कतिपय अर्थमन्त्रीले संसदीय छानबिनमा पर्दा समेत पदमै बस्नुभएको थियो । तर म त्यसो गर्दिँन । छानबिन गर्न सहज होस् भन्ने हिसाबले राजीनामा घोषणा गर्दछु ।' उनले थपे-'जनताको आवाजलाई सम्मान गर्दै मैले राजीनामा दिएको हुँ । छानबिनले सत्यतथ्य निकालेपछि म पुनः काममा फर्कनेछु ।' 

अर्थमन्त्री शर्माले राजीनामा दिनुअघि एमालेको तर्फबाट योगेश भट्टराईले संसदलाई सम्बोधन गर्दै राजीनामा दिनुपर्नेमा जोड दिएका थिए । उनले अर्थमन्त्रीको हैसियतमा शर्मालले संसदलाई सम्बोधन गर्न नपाउने भन्दै राजीनामा नआएसम्म आफूहरु संसद बैठकमा नबस्ने बताएका थिए । उनीपछि सभामुखले अर्थमन्त्रीको हैसियतमा शर्मालाई सम्बोधन गर्न भनेपछि एमालेका सबै सांसदहरुले बैठक बहिस्कार गरेका थिए ।