काठमाण्डौ । बहुचर्चित तथा बहुप्रतिक्षित हिमालयन–सिभिल बैंक मर्जर भाँडिनसक्ने खतरा उत्पन्न भएको छ ।

दुई बैंकबीच मर्जर सम्झौता शुक्रबार हुने भनिए पनि त्यसको अघिल्लो दिनसम्म विकसित घटनाक्रमले भने मर्जर छलफल निश्कर्षमा नपुग्ने सम्भावना देखाएको हो । 

मर्जरको सम्झौता हुनुअघि हिमालयन बैंकका संचालक तथा उच्च व्यवस्थापनले त्यसअघि कायम सहमति नै कार्यान्वयन नगर्ने गरी हेपाहा प्रवृति प्रदर्शन गरेपछि सिभिल बैंकका सञ्चालक तथा मर्जर कमिटीका सदस्यहरु रुष्ट भएका छन् । 

विशेषगरी हिमालयन बैंकको उच्च व्यवस्थापन र सञ्चालकहरुले सिभिल बैंकलाई अक्वायर गर्दा कर्मचारी समायोजनमा बखेडा झिकेपपछि रातारात विकास भउको सकारात्मक परिस्थिति एकाएक बिग्रिन पुगेको हो । 

यस्तै, हिमालयन बैंकका केही सञ्चालकहरुले सहमति कायम भइसकेको सेयर स्वाप अनुपातमा समेत अन्तिम अवस्थामा बखेडा गरेपछि सम्भावित मर्जरमा समस्या आएको स्रोतको दाबी छ । 

हिमालयन बैंकस्थित स्रोतका अनुसार यो बैंकका केही सञ्चालकहरुले सिभिल बैंकलाई ८० को अनुपातमा सेयर स्वाप दिन नसकिने र डिडिए रिपोर्टपछि हुनसक्ने १० अंकको घटबढलाई सिभिल बैंकले. मान्नुपर्ने विषय अन्तिम अवस्थामा उठाएका थिए । हिमालयन बैंकका केही सञ्चालकले यस्तो विषय उठाएपछि सिभिल बैंकका सञ्चालकहरुले आफूहरु डोमिनेन्ट भएको महसुस गरेका छन् । उनीहरु हेपिएर हिमालयन बैंकमा मर्ज नहुने प्रष्ट अडानमा देखिएका छन् । 

यस्तै, २ दिनअघिको मर्जर कमिटीका सदस्य तथा सञ्चालकहरुको छलफलले सिभिल बैंकलाई हिमालयन बैंकले १००ः८० को अनुपातमा मर्जर गर्ने निर्णय गरेको थियो । सो क्रममा सिभिल बैंकका सञ्चालकहरुले मर्जर सफल होस् भन्ने हेतुले हदैसम्मको लचकता प्रदर्शन गरेका थिए । 

स्रोतका अनुसार सिभिल बैंकले मर्जरपछि बन्ने बैंकको नाममा हिमालयन बैंक लिमीटेड नै रहने, प्रमुख कार्यकारी अधिकृतमा अशोक राणा नै रहने तथा सञ्चालकहरु पनि सबै हिमालयन बैंककै रहने कुरामा सहमति जनाएको थियो । मर्जरका लागि सिभिलले प्रदर्शन गरेको हदैसम्मको लचकता र गरेको सहजीकरणलाई हिमालयन बैंकका सञ्चालक र प्रमुख कार्यकारी अधिकृत लगायतका उच्च व्यवस्थापनका पदाधिकारीले हल्का ढंगले लिँदा अवस्था बिग्रिएको हो । 

शुक्रबार हिमालयन बैंक र सिभिल बैंकबीच मर्जरका लागि एमओयू हुने गरी सम्झौता हुनुपर्ने थियो । तर, बिहीबार हिमालयन बैंकका सञ्चालकहरुले सेयर स्वापको विषयमा कुरा फेरेसँगै उच्च व्यवस्थापनले कर्मचारी समायोजनमा समेत नयाँ लफडा झिकेपछि अवस्था केही बिग्रिएको छ । 

हिमालयन बैंकको व्यवस्थापनले समेत सिभिलका कर्मचारीलाई समान पोजिसनमा लैजान नखोजेपछि र नवील–एनबी मर्जरको जस्तो मोडलमा कर्मचारी समायोजनको विषय उठाएपछि नयाँ समस्या देखिएको हो । 

नवील बैंकले एनबी बैंकलाई अक्वायर गरेसँगै एनबीमा कार्यरत कर्मचारीहरुको एक तह घटुवा हुने गरी नयाँ व्यवस्था गरेको छ । हिमालयनले पनि सिभिलका कर्मचारीहरुलाई एक तह घटुवा हुने गरी मात्र लिने प्रस्ताव गरेपछि मर्जरको प्रयास अन्तिम समयमा भाँडिने अवस्थामा पुगेको हो । 

स्रोतहरुको दाबीलाई आधार मान्ने हो भने हिमालयन बैंकका सञ्चालक तथा उच्च व्यवस्थापनबाट लचकता प्रदर्शन नगरिए सिभिलसँगको मर्जर गर्ने जारी प्रयास विफल हुनेछ र यी दुई बैंकबीच मर्जरका लागि प्रारम्भिक सम्झौता नै हुन गाह्रो पर्नेछ ।