काठमाण्डौ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मूल्यवृद्धि लक्ष्यभन्दा बाहिर रहेकोले नियन्त्रण गर्न बैंक ब्याजदर बढ्ने संकेत गरेका छन्। 

प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिले सोमबार आगामी मौद्रिक नीतिसम्बन्धी राष्ट्र बैंकसँग गरेको छलफलमा गर्भनर अधिकारीले यस्तो संकेत गरेका हुन्। ‘मूल्यवृद्धि नियन्त्रण गर्न बैंक ब्याजदर बढाउने तथा कोभिडको समयमा दिएका सहुलियत हटाउँदै लैजाने नीति ठूला र विकसित अर्थतन्त्र भएका मुलुकले लिएका छन्’, उनले भने, ‘नेपालले उक्त नीतितर्फ ध्यान दिनुपर्छ।’

गभर्नर अधिकारी आगामी आर्थिक वर्षमा पनि मूल्यवृद्धि लक्ष्यभन्दा माथि नै हुने बताए। ‘चालु आर्थिक वर्षमा केन्द्रीय बैंकले साढे ६ प्रतिशत मुद्रास्फीति राख्ने लक्ष्य लिए पनि अन्तर्राष्ट्रिय बजारमा समेत मूल्यवृद्धि अत्याधिक रुपमा बढेकाले लक्ष्यभन्दा बाहिर जाने अवस्था छ’, उनले भने, ‘चालु आर्थिक वर्षमा मूल्यवृद्धि सीमाभित्र राख्न कठिन छ।’

विश्वका अधिकांश मुलुकका केन्द्रीय बैंकहरुले मूल्यवृद्धि नियन्त्रण गर्ने मौद्रिक नीति ल्याएकाले नेपालले पनि त्यसतर्फ ध्यान दिनुपर्ने अधिकारीले बताए। ‘मूल्यवृद्धि हामीले आशा गरेको भन्दा माथि नै जाने सम्भावना छ। आगामी वर्षमा पनि दबाबमूलक नै देखिन्छ’, उनले भने, ‘पछिल्लो समय रुस र युक्रेनबीचको युद्धले सप्लाई चेनमा ठूलो असर पारेको छ। इन्धनको मूल्य धेरै बढेको कारण अन्य वस्तुको मूल्य बढेको छ। आगामी वर्ष पनि अहिले मूल्यवृद्धि भए जस्तै कायम रहने देखिन्छ।

गभर्नर अधिकारीले विश्वका अधिकांश मुलुकहरुले मूल्यवृद्धिलाई कम गर्न ब्याजदर बढाउने, पोलिसीहरु बनाउने र मूल्यलाई नियन्त्रण गर्ने मौद्रिक नीति ल्याउने गरेको बताए। ‘नेपाललाई पनि मूल्यवृद्धिमा चाप परेको छ’, उनले भने, ‘त्यसैले हामीले पनि यस्तै नीति अपनाउनुपर्ने अवस्था छ।’ 

वैशाख मसान्तसम्ममा ७.८७ प्रतिशत मूल्यवृद्धि रहेको गभर्नर अधिकारीले जानकारी दिए। ‘अहिलेसम्मको अवस्था तल झर्ने देखिएको छैन’, भने। 

यस्तै गभर्नर अधिकारीले बाह्य क्षेत्र चापको कारणले मुलुकको विदेशी मुद्रा सञ्चिति घट्दै गएको बताए। ‘यो वर्ष ठूलो रकम आयातमा खर्च हुँदा १० महिनाको अवधिमा २.४७ अर्ब डलरले कमी आएको छ’, उनले भने, ‘९.२८ अर्बको विदेशी मुद्रा सञ्चिति छ, त्यसले साढे ६ महिनाको वस्तु तथा सेवा दुवै धान्नसक्ने अवस्था छ।’