काठमाण्डौ । लघुवित्त वित्तीय संस्थाहरुलाई संरक्षण गर्ने खालको नीति आगामी आर्थिक वर्षको मौद्रिक नीतिमा अवलम्बन गर्नुपर्नेमा सकारोकारवालाहरुले जोड दिएका छन्। 

राजधानीमा आज माइक्रोफाइनान्स एसोसिएन अफ नेपालद्वारा आयोजित मौद्रिक नीतिमाथिको छलफल कार्यक्रममा सहभागी सरोकारवालाहरुले यस्तो धारणा राखेका हुन्। ‘अब आउने मौद्रिक नीति लघुवित्तलाई बचाउन खालको हुनुपर्छ’, लघुवित्तका अध्येता डा नरहरि ढकालले भने, ‘विविध समस्याका कारण अहिले धेरै लघुवित्तहरु अप्ठ्यारो स्थितिमा छन्, ती समस्या समाधान गर्ने खालको नीति आउनुपर्छ।’

ढकालले सबै लघुवित्त सक्षम र सबल नरहेको प्रस्ट पारे। ‘अबको मौद्रिक नीतिले निक्षेप परिचालन गर्नेतिर सोच्नुपर्छ’, उनले भने, ‘ब्याजरको क्याप संसारमा कतै छैन। यसमा पनि राष्ट्र बैंकले ध्यान दिन आवश्यक छ।’

कार्यक्रममा सहभागी अर्का लघुवित्त अध्येता डा भरतसिंह थापाले राष्ट्र बैंकले लघुवित्तको वित्तीय स्थिरता र ग्राहक सुरक्षामा ध्यान दिनुपर्ने बताए। उनले राष्ट्र बैंकले लघुवित्तमा लगाएको ब्याजको क्याप हाउनुपर्नेमा जो दिए।

धेरैजसो लुघवित्त नाफामै रहे पनि नयाँ लघुवित्तलाई पनि गाह्रो रहेको थापाको भनाइ थियो। ‘लघुवित्त अझै बलियो बनाउन आवश्यक छ’, उनले भने। 

पूर्वसचिव एवं लघुवित्तविज्ञ डा मनबहादुर विकले सरकारले दिने सेवा लघुवित्तमार्फत गर्नुपर्नेमा जोड दिए। ‘यसो गरिए लघुवित्त सक्षम हुने थिए’, उनले भने, ‘यो विषयलाई मौद्रिक नीतिमा समेटिनुपर्छ।’

सिंगल डिजिटको ब्याजमा ऋण लिन सकियो भने तल्लो तहका ग्राहकहरुसम्म पुग्ने र यसबाट लावाभान्वित हुने विकको भनाइ थियो।

लघुवित्तलाई सोसल बैंकका रुपमा हेरिनुपर्ने थापाले बताए। ‘किनकि लघुवित्त संस्कृतिसँग पनि जोडिएको छ’, उनले भने। 

किसान हित कोष पनि लघुवित्तमार्फत गर्दा सजिलो हुने थापाले बताए।

कार्यक्रमका प्रमुख अतिथि राष्ट्र बैंकका कार्यकारी निर्देशक डा प्रकाशकुमार श्रेष्ठले ऋण विस्तार गर्न पाइएन भनेर गुनासो नगर्न लघुवित्तहरुसँग आग्रह गरेका छन्। ‘माइक्रो भएर माइक्रा लेभलमै काम गर्नुहोस्’, उनले भने।

लघुवित्तहरु सेवाका सिद्धान्त र प्रकृति बुझेर अगाडि बढ्न श्रेष्ठले सुझाव दिए।