काठमाण्डौ । हिमालयन बैंकले तोकिएको टाइमलाइनमा जवाफ नपठाएपछि भाँडिएको ठानिएको सिभिल बैंकसँगको मर्जर पुनः ब्यूँतिएको छ । हिमालयन बैंकको बोर्ड बैठकले निर्णय गरी आज जवाफ पठाएसँगै अब सिभिलसँगको मर्जरका लागि भोलि प्रारम्भिक सम्झौता हुने भएको हो । 

भाँडिएको घोषणा नै गरी सिटिजन्स बैंकसँगको सम्भावित मर्जरका लागि तारन्तार छलफलमा जुटिसकेका सिभिल बैंकका सञ्चालकहरुको बैठक समेत भर्खरै सकिएको छ ।  सो बैठकले हिमालयन बैंकबाट सकारात्मक जवाफ आएको भन्दै पहिलाको सहमतिअनुसार नै मर्जरको एमओयू गर्ने निर्णय गरेको हो । 

यो सहमतिसँगै हिमालयन बैंकमा अब सिभिल बैंक बिलय हुने भएको छ । 

यी दुई बैंकबीच भएको सहमतिअनुसार असार २७ गतेभित्रै एमओयू गर्ने भनिएको थियो । तर, सो मितिसम्म पनि हिमालयन बैंकले जवाफ नपठाएपछि सिभिलका सञ्चालकहरु मर्जर भाँडिएको ठानेर सिटिजन्ससँग केन्द्रीत भएका थिए । तर हिमालयनले आज जवाफ पठाएपछि भाँडिइसकेको मर्जर पुनः अगाडि बढ्ने भएको हो । 

सिभिलले उठाउँदै आएको कर्मचारी समायोजनको विषयमा अन्तिम आवरमा हिमालयन बैंकले सहमति जनाएको छ । 'अब नवील-एनबी बैंकमा जस्तो कर्मचारीको अन्यायपूर्ण ढंगले समायोजन हुनेछैन ।' ठूला केही पोस्टबाहेक सिभिलका कुनै पनि कर्मचारीका तह तथा पद घटुवा नहुने सहमति बनेको हिमालयनका एक सञ्चालकले जानकारी दिए । 

यस्तै, हिमालयनले सिभिललाई १००ः८१ को सेयर स्वापमा गाभ्नेछ । 

मर्जरपछि बन्ने बैंकको नाममा 'हिमालयन बैंक' नै हुनेछ भने प्रमुख कार्यकारी अधिकृतमा हिमालयन बैंकका अशोक राणाले निरन्तरता पाउनेछन् । दोश्रो बरियतामा सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल पोखरेल रहनेछन् । 

यस्तै, मर्जरपछि बन्ने बैंकको सञ्चालक समितिमा सिभिल बैंकबाट कुनै प्रतिनिधित्व हुनेछैन । 

यसरी सिभिल बैंकले आफ्नो नाम, सीइओ, सबै सञ्चालक त्यागेर लगानीकर्तालाई फाइदा हुने गरी सेयर स्वाप र कर्मचारीलाई फाइदा हुने गरी समायोजनको मोड्यूलमा हिमालयनलाई सहमत हुन बाध्य बनाएको छ । 

हिमालयन बैंकका सञ्चालकहरुका अनुसार भोलि सेयर कारोबार बन्द भएपछि हिमालयन र सिभिलबीच मर्जरको औपचारिक सम्झौता हुनेछ। 

सिभिलका एक सञ्चालकले बिजशालासँग भने–‘३ बजेपछि मर्जर सम्झौता हुन्छ । हामी साइत जुराएरै एमओयू गर्छौ ।’