काठमाण्डौ । हिमालयन बैंक र सिभिल बैंकबीच मर्जको प्रारम्भिक समझदारीमा हस्ताक्षर भएको छ । 

दुवै बैंकका सञ्चालक, मर्जर कमिटीका संयोजक तथा सदस्य र उच्च व्यवस्थापनका निश्चित अधिकारीहरु मात्र सहभागी भई यी दुई बैंकले मर्जरको समझदारीमा हस्ताक्षर गरेका हुन् । 

याक एण्ड यति होटलमा दुई बैंकबीच मर्जरको समझदारी भएको हिमालयन बैंकका एक सञ्चालकले जानकारी दिए । 

समझदारीपत्रमा हिमालयन बैंकको तर्फबाट प्रचण्डबहादुर श्रेष्ठ र सिभिल बैंकको तर्फबाट अध्यक्ष प्रतापजंग पाण्डेले हस्ताक्षर गरेका छन् । 

हिमालयन र सिभिल बैंकबीच १००ः८१ को सेयर स्वाप रेसियोमा मर्जरमा जाने सहमति भएको हो । यसको अर्थ हाल सिभिल बैंकको १०० कित्ता सेयर हुनेहरुले मर्जरपछि बन्ने बैंकको ८१ कित्ता सेयर पाउनेछन् । 

समझदारीअनुसार मर्जरपछि बन्ने बैंकको नाम हिमालयन बैंक रहनेछ भने प्रमुख कार्यकारी अधिकृतमा हिमालयन बैंकका अशोक राणा नै रहनेछन् । उनीपछि दोश्रो बरियतामा भने सिभिल बैंकका सीइओ सुनिल पोखरेल वरिष्ठ डेपुटी सीइओ बन्नेछन् । 

यस्तै, मर्जरपछि बन्ने हिमालयन बैंकको सञ्चालक समितिमा सिभिलबाट कुनै प्रतिनिधित्व हुनेछैन । 

यसैगरी, सिभिलका कर्मचारीहरुलाई समेत सम्मानजनक ढंगले समायोजन गर्ने सहमति भएको छ । यो सहमतिअनुसार सिभिलका उच्च तहका केही कर्मचारीबाहेक कसैले पनि घटुवा भएर जागिर खानुपर्ने अवस्था बन्नेछैन ।