– अनन्त्य सुन्दर

काठमाण्डौ । अर्थ मन्त्रालयमा अनधिकृत व्यक्तिलाई प्रवेश गराई बजेटमा करका दर हेरफेर गरेको भन्ने विषय सञ्चार मध्यमहरु चर्किएसँगै चौतर्फी दबाबका कारण अर्थमन्त्री जनार्दन शर्माले असार २२ गते पदबाट राजीनामा दिए। त्यसका साथै शर्मामाथि छानबिन गर्न ११ सदस्यीय संसदीय विशेष समिति पनि गठन भएको छ। 

नेपाल धितोपत्र बोर्ड (सेबोन)का अध्यक्ष रमेशकुमार हमाल पनि अहिले अर्थमन्त्री शर्माकै पथ उन्मुख भएको पाइएको छ। अध्यक्ष हमालको ईशारामा ब्रोकर लाइसेन्ससम्बन्धी मस्यौदा सेबोनका कर्मचारीले नभई एक मर्चेन्ट बैंकरले तयार गरेको खुलासा भएको छ। 

सेबोन सञ्चालक समिति बैठकले धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा बजार निर्माता नियमावली, २०६४ को संशोधन मस्यौदा असार २१ गते पारित गरेको समाचार बेलुका साढे ८ बजे विभिन्न सञ्चार माध्यमहरुमा आएको थियो। तर, यो खबरले धितोपत्र दलाल, लगानीकर्ता, मर्चेन्ट बैंकरमात्र नभएर सेबोनका कर्मचारीहरु पनि चकित भएका थिए।

सेबोनका उच्च तहका कर्मचारीका साथै सम्बन्धित विभागहरुसँग आवश्यक छलफल नगरी उक्त मस्यौदा पारित भएको सेबोन एक उच्च अधिकारीले बताए। ‘हामीले पनि बेलुका सञ्चार माध्यमहरुमा समाचार सम्प्रेषण भएपछि मस्यौदा पारित भएको थाहा पायौँ’, ती अधिकारीले भने, ‘सम्बन्धित विभागमा कार्यरत कर्मचारीहरुलाई पनि केही मेसो थिएन।’

‘नयाँ ब्रोकर लाइसेन्सको मस्यौदा पारित भएको खबर सञ्चार माध्यमहरुमा प्रकाशित भएसँगै बेलुका अबेरसम्म उक्त मस्यौदाबारे जिज्ञासासहितको फोन आयो। तर, आफू कार्यरत संस्थाबाट नै कसले मस्यौदा तयार गर्यो ? कहिले गर्यो ? कसरी गर्यो ? भन्ने विषयमा नै अत्तोपत्तो भएन’, ती अधिकारीले भने, ‘सेबोनको सम्बन्धित विभागका कर्मचारीहरु संलग्न नै नभई मस्यौदा कसरी तयार हुन्छ?, त्यसैले उक्त मस्यौदा सेबोनमा नभई अन्य कतैबाट आएको देखिन्छ।’

बिजशाला संवाददातालाई प्राप्त जानकारीअनुसार उक्त मस्यौदा एक मर्चेन्ट बैंकरले रातारात तयार गरी सेबोन अध्यक्ष हमाललाई दिएका थिए। ती मर्चेन्ट बैंकरले तयार गरेको मस्यौदा अध्यक्ष हमालले आफूनिकट कर्मचारीसँग केही दिन छलफल गरेजस्तो गरी मस्यौदामा भएको चुक्तापुँजीमा केही फेरबदल गरी सञ्चालक समितिमा पठाइएको थियो। उक्त मस्यौदा असार २१ गते बिहान बसेको सेबोन सञ्चालक समितिले पारित गरेको थियो। पारित भएको दिनै सेबोनले मस्यौदा अर्थ मन्त्रालय पठाएको थियो।  

अध्यक्ष हमालको ब्रोकर लाइसेन्ससम्बन्धी उक्त मस्यौदा सकेसम्म चाँडो मन्त्रिपरिषदबाट पारित गर्ने योजना रहेको बुझिन्छ। तर, सेबोन सञ्चालक समितिले मस्यौदा मन्त्रालय पठाएको भोलिपल्ट नै अर्थमन्त्री शर्माले राजीनामा दिएसँगै उक्त प्रक्रिया अहिले रोकिएको छ।

रातारात बोर्ड सचिव परिवर्तन

असार १७ गते अध्यक्ष हमालले बोर्डको सचिवबाट डा. नवराज अधिकारीलाई हटाई कृष्णराज पोख्रेललाई सचिवमा नियुक्ति गरेका छन्। सेबोनका एक कर्मचारीका अनुसार पोख्रेललाई हमालनिकट कर्मचारी मानिन्छ। ‘मस्यौदा पारित गर्नु ४ दिनअघि नै बोर्ड सचिव परिवर्तन गरिएको थियो। सचिव उक्त मस्यौदा पारित गर्न सहजीकरण होस् भनेर नै परिवर्तन गरिएको थियो भन्ने अहिले प्रस्ट भएको छ’, ती कर्मचारीले भने।