काठमाण्डौ । हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति गर्ने गरी पहिलो समझदारीपत्रमा हिजो(बुधबार) हस्ताक्षर भयो । हिमालयनले १००ः८१ को सेयर स्वापमा सिभिललाई प्राप्ति गर्ने गरी सम्झौता भएको हो । 

सम्झौतापछि धेरै लगानीकर्ता र सरोकारवालामा यी दुईबीचको मर्जर(प्राप्ति) प्रक्रिया कहिले पूरा हुन्छ भन्ने जिज्ञासा राखेका पाइएको छ । 

हिमालयन बैंकका एक सञ्चालकका अनुसार सिभिललाई सम्पूर्ण रुपमा प्राप्ति गर्ने गरी सम्झौता भएको र यो प्रक्रिया पूरा भई एकीकृत कारोबार सुरु गर्नलाई ६ महिना लाग्ने आँकलन गरिएको छ । 
हाम्रो सहमति पनि ६ महिनाभित्र प्राप्तिका सबै काम पूरा गर्ने भन्ने नै छ । ती सञ्चालकले भने ः प्राप्ति गर्नुपर्ने हुँदा सिभिलको मात्र डिडिए गर्नुपर्नेछ । अन्य प्रक्रिया पनि सहज ढंगले अगाडि बढे भने ६ महिनाभन्दा अगाडि नै पनि एकीकृत कारोबार सुरु हुनसक्ने सम्भावना रहन्छ । 

हिमालयनले अक्वायर गर्ने सहमतिसँगै नेप्सेले सिभिल बैंकको सेयर कारोबार रोकिसकेको छ । 

हिमालयनले सिभिललाई प्राप्ति गरेपछि बैंकको नाम हिमालयन बैंक नै रहनेछ भने सञ्चालकमा हिमालयनका हालका सञ्चालकहरु मात्र रहनेछन् । मर्जपछि बन्ने बैंकको प्रमुख कार्यकारी अधिकृतमा अशोक राणा रहनेछन् भने वरिष्ठ डेपुटी सीइओमा सिभिल बैंकका सीइओ सुनिल पोखरेल रहनेछन् ।

हिमालयनले सिभिलका उच्च पदस्थ केही कर्मचारीबाहेक सबैलाई समान हैसियतमा समायोजन गर्ने लिखित समझदारी नै गरेका कारण यो लफडाले मर्जर प्रक्रियामा विलम्ब हुने सम्भावना छैन ।