काठमाण्डौ। नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामार्फत १ लाख ४० हजार बढीलाई सहुुलियतपूर्ण कृषि कर्जा लिएको जनाएको छ। 

राष्ट्र बैंकले आर्थिक गतिविधि अध्ययन (एकिकृत) अर्धवार्षिक प्रतिवेदन (आव २०७८/७९) सार्वजनिक गर्दै बैंक तथा वित्तीय संस्थाहरुले २०७८ पुस मसान्तसम्म १ लाख ४० हजार ५२१ ऋणीलाई २ खर्ब १४ अर्ब सहुलितपूर्ण कृषि कर्जा प्रदान गरेको जनाएको हो।  

सो अवधिमा प्रवाहित सहुलियतपूर्ण कर्जामध्ये सबैभन्दा बढी व्यवसायिक कृषि तथा पशुपन्छी व्यवसायतर्फ ५७ हजार ६२६ ऋणीलाई १ खर्ब ३६ अर्ब १ करोड कर्जा बाँकी रहेको छ भने बाँकी शीर्षकहरुअन्तर्गत ८२ हजार ८ सय ९५ ऋणीको ७७ अर्ब ५७ करोड कर्जा बक्यौता रहेको छ। 

यस्तै राष्ट्र बैंकले २०७८ असार मसान्तको तुलनामा २०७८ पुस मसान्तसम्म बैंक तथा वित्तीय संस्थाबाट कृषिमा प्रवाहित कर्जा ९.२ प्रतिशतले वृद्धि भई ३ खर्ब १ अर्ब ६५ करोड पुगेको जनाएको छ। गत वर्षको सोही अवधिमा यस्तो कर्जा २२.८ प्रतिशतले वृद्धि भएको थियो। समीक्षा अवधिमा कुल कृषि कर्जामध्ये सबैभन्दा बढी (७७ अर्ब ८१ करोड) कर्जा अन्य कृषि तथा कृषिजन्य सेवा शीर्षकमा प्रवाह भएको छ भने सबैभन्दा कम (१० करोड ७२ लाख) सिचाइँमा प्रवाह भएको छ। 

सम्बन्धित प्रदेशमा रहेका बैंक तथा वित्तिय संस्थाहरुबाट भएको लगानीका आधारमा कृषि क्षेत्रमा प्रवाहित कर्जाको अंश प्रदेश १ मा १७.३ प्रतिशत, मधेश प्रदेशको अंश १६.६ प्रतिशत, बागमती प्रदेशको अंश ३४.३ प्रतिशत, गण्डकी प्रदेशको अंश ९.८ प्रतिशत, लुम्बिनी प्रदेशको अंश १५.६ प्रतिशत, कर्णाली प्रदेशको अंश १.५ प्रतिशत र सुदूरपश्चिम प्रदेशको अंश ४.९ प्रतिशत रहेको छ।