काठमाण्डौ । ‘खल्ती’ले एसईई विद्यार्थीको नतिजा हेर्ने प्रक्रियालाई सरल बनाउने उद्देश्यले राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयसँग सहकार्य गरेको छ। 

यस सहकार्यसँगै अब एसईई २०७८–७९ ब्याचका  विद्यार्थी र अभिभावकले सजिलै र निःशुल्क खल्तीमार्फत नतिजा हेर्न सक्नेछन्। नतिजा हेर्नका निमित्त प्रयोगकर्ताले खल्ती एपमा गई एसईई रिजल्टमा ट्याप गरी आफ्नो सिम्बोल नम्बर र जन्म मिति राख्नुपर्नेछ। राखिएको सबै विवरण ठिक भएमा एसईईको नतिजा तुरुन्तै उपलब्ध हुनेछ र यसरी खल्तीबाट नतिजा हेर्ने कुनै पनि शुल्क लाग्ने छैन। 

यस सेवाका बारेमा बोल्दै खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले भने, ‘एसएलसीको नतिजा पत्रिकामा हेर्नुपर्ने समय परिवर्तन भएर एसएमएसबाट हेर्न मिल्ने भएको प्रक्रियामा सहजता महसुस भएको थियो। अहिले हामी खल्ती एपबाटै निःशुल्क नतिजा हेर्न मिल्ने समयसम्म आइपुगेका छौँ र यो प्रविधिमा ठूलो रुपान्तरण हो।’

नेपालको फिनटेक उद्योगमा खल्तीले आफूलाई युवा, प्रचलित र नवीन ब्रान्डका रूपमा स्थापित गर्न सफल भएको छ। करिब ६ वर्षको अवधिमा खल्तीले देशभर २० लाखभन्दा बढी प्रत्यक्ष र लाखौँ अप्रत्यक्ष प्रयोगकर्ताका साथमा ५० हजार बढी एजेन्ट नेटवर्कको प्रयोगकर्ता बोकेको खल्ती डिजिटल वालेटले बिल भुक्तानी जस्तै– मोबाइल र टीभी रिचार्ज, फ्लाइट तथा मुभी टिकट बुकिङ, बीमा प्रिमियम तथा अनलाइन सपिङ साइटमा भुक्तानी गरी यी सेवाहरुको डिजिटल भुक्तानीसेवा दिँदै आएको छ। यतिमात्र नभई विभिन्न साना तथा ठूला व्यापारलाई पनि भुक्तानी सेवा उपलब्ध गराई अनलाइन व्यवसायलाई प्रोत्साहन दिई आएको छ।