काठमाण्डौ । नागरिक लगानी कोष (सीआईटी)ले आफ्नो २७ औँ वार्षिक साधारणसभा (एजीएम) डोकेको छ। 

सीआईटी सञ्चालक समितिको आज बिहान बसेको बैठकले वार्षिक साधारणसभा आउँदो भदौ ६ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको बानेश्वरस्थित सीआईटीको केन्द्रीय कार्यालयमा अपराह्न ३ बजेबाट सुरु हुनेछ।

सभाले आर्थिक वर्ष २०७७/७८ का प्रस्तावित कुल ३१.५७८९ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा ३० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.५७८९ प्रतिशत नगद लाभांश छन्। 

सोही सभाले सीआईटीको उक्त आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनलगायतका महत्वपूर्ण दस्तावेजहरु अनुमोदन गर्नेछ। 

लाभांश र सभा प्रयोजनका लागि सीआईटीले यही साउन २५ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ साउन २४ गतेसम्म कायम सेयरधनीहरुमात्रै सीआईटीको वार्षिक साधारणसभा भाग लिन र लाभांश पाउन योग्य हुनेछन्।