काठमाण्डौ । राष्ट्रिय सहकारी महासंघले परिस्थिति सहज नहुँदासम्म घर–जग्गालगायत अनुत्पादक क्षेत्र एवं ठूलो लगानी नगर्न सहकारीहरुलाई अपिल गरेको छ। 

महासंघले आज एक अपिल जारी गर्दै यस्तो आग्रह गरेको हो। जोखिम विश्लेषण कार्यविधि तयार गरी जोखिम न्यूनीकरणका लागि योजनाबद्ध तथा प्रभावकारी रुपमा असुलीमा केन्द्रित रहन पनि महासंघले सुझाव दिएको छ।

अपिलमा करिब एक वर्षदेखि देखिएको तरलता संकटको असर सहकारी क्षेत्रमा समेत देखिन थालेको अवस्थालाई मध्यनजर गर्दै आफ्नो वित्तीय जोखिम विश्लेषण गरी सामान्य अवस्थामा भन्दा बढी तरलता कायम राख्न भनिएको छ। ‘सदस्य एवं सरोकारवाला निकायसँग संस्थाको वर्तमान अवस्थाका बारेमा निरन्तर समन्वय र संवाद जारी राखौँ’, अपिलमा भनिएको छ। 

सहकारीका मूल्य, मान्यता र सिद्धान्तबमोजिम आन्तरिक नियन्त्रण प्रणालीलाई चुस्त राख्दै संस्थागत सुशासन कायम गर्न पनि महासंघले अपिल गरेको छ। ‘महासंघ, संघ एवं सहकारी बैंकले सञ्चालन गरेका स्तरीकरण कार्यक्रम एवं तालिममा सहभागी भई संस्थागत क्षमता मजबुद बनाउनौँ’, अपिलमा उल्लेख छ। 

सहकारी अभियानको ऐक्यबद्धतालाई कायम राख्न माथिल्लो संघहरुसँग नियमित सम्पर्कमा रहँदै यथासम्भव अभियानभित्रै कारोबार गर्न पनि महासंघले आग्रह गरेको छ। राष्ट्रिय सहकारी बैंक, केन्द्रीय, प्रदेश तथा जिल्लास्तरीय संघहरुले आफ्ना सदस्य संस्थाहरुसँग नियमित सम्पर्क र समन्वय गरी संस्था सञ्चालनमा आवश्यक सहजीकरण गर्न पनि अपिल गरिएको छ। 

सदस्यहरुले समेत अस्वाभाविक ब्याजको लोभमा नपरी संस्थागत क्षमता भएका र सुशासनमा सञ्चालित संस्थाहरुसँग मात्र कारोबार गर्न महासंघले सुझाव दिएको छ।