अमेरिका । नेपालको बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र फिल्म ‘सहायक श्रीमान’ (को–हजबेन्ड)ले अमेरिकामा ‘उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री अवार्ड’ जितेको छ।
अमेरिकाको एटलान्टमा अगष्ट ४ देखि ७ सम्म आयोजित आठौँ कब इन्टरनेसनल फिल्म फेस्टिभलको अन्तिम दिन भएको अवार्ड समारोहमा ‘को–हजबेन्ड’लाई उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री अवार्ड घोषणा गरिएको हो।
अवार्ड ग्रहण गर्दै निर्देशक गणेश पाण्डेले यो अवार्ड नेपाल र नेपालीका लागि पनि गर्वको विषय भएको बताए। ‘नेपालमा बनेको डकुमेन्ट्री फिल्मले विभिन्न देशका डकुमेन्ट्रीबीच प्रतिस्पर्धामा जित्नु आफैँमा गर्वको कुरा हो। यसले अन्तर्राष्ट्रिय जगतमा नेपालको शीर उच्च बनाउने मैले विश्वास लिएको छु’, उनले भने।
आयोजक कब इन्टरनेसनल फिल्म फेस्टिभलका निर्देशक रिचर्ड टभेरनारोका अनुसार यसपालि ६०० वटा फिल्मबाट ७० वटा फिल्म प्रतिस्पर्धाका लागि छनौट भएका थिए।
यसअघि अमेरिकाको मेरियटा चलचित्र महोत्सवमा पाण्डेको बहुचर्चित डकुमेन्ट्री ‘भाग्यले बाँचेकाहरु’ (नेपाल अर्थक्वेकः हिरोज, सर्भाइभर्स एण्ड मिराकल्स)ले पनि उत्कृष्ट डकुमेन्ट्री अवार्ड जितेको थियो।
निर्देशक पाण्डेका अनुसार ‘सहायक श्रीमान’ (को–हजबेन्ड)ले पनि अहिलेसम्म सातवटा अन्तर्राष्ट्रिय अवार्ड जितेको छ।
काठमाण्डौ इन्टरनेसनल माउन्टेन फिल्म फेस्टिभलबाट यात्रा आरम्भ गरेको ‘को–हजबेण्ड’ले नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा १ हजार डलरसहित उत्कृष्ट डकुमेन्ट्री अवार्ड जितेको थियो।
यसैगरी नेपालमै आयोजित नेपाल–अफ्रिका चलचित्र महोत्सव, भारतको सिम्ला अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा उत्कृष्ट डकुमेन्ट्री अवार्ड र रसियामा आयोजित अन्तर्राष्ट्रिय कान्स भिडियो फेस्टिबलमा सर्वोत्कृष्ट पुरस्कार ‘ग्रान्ड प्रिक्स अवार्ड’ जितेको थियो। विश्वका एक दर्जन बढी चलचित्र महोत्सवमा छनौट भइसकेको ‘को–हजबेण्ड’ले स्लोभाकियाको पोपरोडमा आयोजित प्रतिष्ठित २९औं इन्टरनेशनल फिल्म फेस्टिबल अफ माउन्टेन फिल्मस् पोपराडमा अनरेवल मेन्सन अवार्ड जितेको थियो।
बहुपति प्रथामा आधारित ३५ मिनेटको यो डकुमेन्ट्री फिल्म कर्णाली प्रदेशको हुम्लामा छायाकन गरिएको छ। घरमा जति दाजुभाइ छन्, एउटै श्रीमती बिहे गर्ने संसारकै अनौठो चलन अहिले पनि नेपालका कतिपय हुम्लालगायतका हिमाली जिल्लामा विद्यमान छ। सोही विषयलाई निर्देशक पाण्डेले पहिलोपटक पर्दामा उतारेका हुन्।
निर्देशक पाण्डेले करिब ४ वर्षको छायाकन र रिसर्चबाट सहायक श्रीमान निर्माण गरेका हुन्। साइन मिडिया प्रालिले निर्माण गरेको यो वृत्तचित्रको लेखन पनि निर्देशन पाण्डेले नै गरेका हुन्। जसको निर्मात्री शारदा गैरे, प्रमुख सहायक निर्देशक एवं दृश्य सम्पादक ईश्वर कोइराला र सहायक निर्देशक नृपराज हमाल हुन्।
यसैगरी ईश्वर कोइराला, चन्द्रमान डंगोल, अविनाश लामा र पुकार तिमिल्सिनाले यो डकुमेन्ट्रीलाई क्यामरामा कैद गरेका हुन्। संगीत संयोजन संगीतकार जुगल डंगोलले गरेका छन्।
यसअघि पनि निर्देशक पाण्डेको बहुचर्चित डकुमेन्ट्री फिल्म ‘भाग्यले बाँचेकाहरु’ (नेपाल अर्थक्वेकः हिरोज, सर्भाइभर्स एण्ड मिराकल्स)ले पनि डेढ दर्जन अन्तर्राष्ट्रिय अवार्ड जितेको थियो।
6 minutes ago
16 minutes ago
27 minutes ago
42 minutes ago
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago
2 hours ago
3 hours ago