काठमाण्डौ । अर्थमन्त्री जनार्दन शर्माले निजामती कर्मचारीहरुलाई बजेटमा गरिएको व्यवस्थाबमोजिम नै कर्मचारीहरुको तलबमान लागू हुने आश्वासन दिएका छन्। 

बजेटमा भएको व्यवस्थाविपरीत कर्मचारीहरुको तलब असमान ढंगले वृद्धि गरिएको भन्दै निजामती कर्मचारीहरुले आज सिंहदबारभित्र काम ठप्प पारेका छन्। सिंहदरबारभित्रै भएको भेलाले भोलि देशभरका नायबसुब्बाहरु बिदा बस्ने घोषणा पनि गरेको छ। 

कर्मचारीका ५ संघसंगठनका नेताहरुले आजै अर्थमन्त्री शर्मालाई भेटेर तलबमान सच्याउन आग्रह गरेका थिए। भेटमा मन्त्री शर्माले बजेटमा भएको व्यवस्थाअनुसार नै तलब वृद्धि गरिने प्रतिबद्धता जनाएका हुन्। शर्माले १५ प्रतिशत तलब वृद्धि लागू गर्ने र नमिलेको विषय ‘पे कमिसन’गठन गरेर मिलाउने आश्वासन दिएका छन्। 

चालु आर्थिक वर्षको बजेटमा सबै राष्ट्र सेवक कर्मचारीको तलब १५ प्रतिशत वृद्धि गर्ने उल्लेख छ। तर, साउन १ गतेदेखि लागू हुने कर्मचारीहरुको नयाँ तलबमान १५ देखि २४ प्रतिशतसम्म वृद्धि भएको विवरणसहितको एक दस्तावेज बाहिर आएको छ। 

सोही दस्तावेजमा असन्तुष्टि जनाउँदै नायबसुब्बा र खरिदारसरहका कर्मचारीहरु आन्दोलनमा उत्रिएका हुन्।